Thursday, 4 December 2014

गाउँले कवि

लालीगुरांश
मैले पाएको उपमा गाउँले कवि २ किनकी म गाउँको सुन्दरतामा अक्षर बुन्छु, निर्दोष प्राणीहरूको ढुकढुकी सुन्छु चोखो प्रकृतिको प्रत्यक्ष्य स्पर्समा हुन्छु खुल्ला आकाशमा उडेका चराहरूसंग भावनामा उड्छु चोखो गाउँले मायाँको सागरमा डुबुल्की खेल्छु किन की म हुँ गाउँले कवि । गाईको बाँ बाँ अनि बाख्राको म्या म्यामा भेरा सिर्जनाहरू टुसाउँछन् २ चैते धूलो अनि असारे हिलोमा मेरा भावनाहरू मुस्काउँछन् ग्रीष्मको गर्मी अनि वर्षाको वर्षातमा मेरा सिर्जनाका मुलहरू रसाउँछन् अनि त्यहीं नेर मेरा भावनाहरुले वस्ती वसाउँछन् किन की म हुँ गाउँले कवि । दर्के वर्षातमा पातमा बज्ने बाजाले मेरा भावनालाई चन्चले पार्छन् २ हावासंगै सुसेल्दै गित गाउने सल्लाहरूले मलाई छम् छम् नचाउँछन् खोलाको बगरमा चुच्चो जोडी बसेका चखेवाका जोडीले आपसमा प्रेम पोख्दा ममा प्रेमको भावना जगाउँछन् प्रकृतिको मायाधारी लिला देख्दा मेरो अंग अंग लजाउँछन् किनकी म हुँ गाउँले कवि । पतझरमा प्रकृति नाङ्गीदा प्रकृतिसंगै मेरा भावनाहरूले पनि आराम गर्छन २ वसन्तमा प्रकृति रङ्गीदा प्रकृतिसंगै मेरो भावनाहरूले पनि काँचुली फेर्छन् अनि म भमरा र पूmलको कविता लेख्छु, झरी र वादलको कविता लेख्छु, गाउँले गोरे र जुठेको कविता लेख्छु यिनै गाउले विषयहरूमा साहित्य सिर्जना गर्दै जान्छु किनकी म हुँ गाउँले कवि । चाडवाड अनि विहे र रत्यौलीमा बज्ने पंचे र नौमती बाजाहरूमा २ साहित्यको राग खोज्छु भावनामा तरङ्गीने रागको झिनो डोरीमा अक्षरलाई शब्द बनाई वाक्यहरूको माला उन्छु कहिले रमाइला र सुखद क्षणहरूमा मनै देखि खिलखिलाई हाँस्छु अनि कहिले कारुणिक भोगाइहरूमा हार गुहार गर्दै चिच्याएर रुन्छु किनकी म हुँ गाउँले कवि । त्यसैले त मैले पाएँ उपमा गाउँले कवि किनकी म गाउँमै रमाउँछु, गाउँमै लड्छु, गाउँमै भिड्छु गाउँमै जित्छु, गाउँमै हार्छु गाउँमै जिउँछु अनि, गाउँमै मर्छु किन की म हुँ गाउँले कवि २

Friday, 14 November 2014

भमरा

             लालीगुरांश
भुँ भुँ भमरा मस्त उड्दछन्
फूल फूमा बसी खेल्दछन्
फूल चहारी रस चुस्दछन्
दिन भरि नै फूलमा भुल्दछन् ।

रंगी बीरंगी फूल फूलेका
हाँगा हाँगामा टन्न झुलेका
उड्दै भमरा दंग परेका
रसपानलाई फूल चारेका ।

तोरीका फूल सेता पहेंला
नुगाइ हाँगा झुले भमरा
बेलीले मिठो वास्ना छर्दैछ
भमरालाई त्यतै डाक्दैछ ।

सेता पहेंला चमेली फूले
सबै भमरा फूलमा भुले
ह्ेर साथी हो उता के भाको
फुल् र भमरा प्रीति गाँसेको ।

पानी पर्दैछ घाम लाग्दै छ
इन्द्रेणी रंग फूलले चोर्दैछ
फूलको लालीमा भम्रा रत्तिए
मधुपानले तिनी मात्तिए ।

Wednesday, 29 October 2014

वाल्यकालको याद

                        लालीगुरांश
ऊशा भो पूर्बमा लाली रंग छायो
कुखुरा र परेवाको संकेत आयो ।

चरा चुरुंगी चिरबिराउन थाले
वतास सँगै सल्ला सुसाए ।

कपुर, तुलशी, चन्दन मगमगाए
पुजारीले मन्दिरमा घण्ट बजाए ।

गौ माता कराइन दुध दिनलाई
आमा जानु भो बाच्छो फुकाई ।

झ्याम्म छ वाँश ढकमक्क बारी
कुहु कुहु कोइली गित गाउन थाली ।

आगनमा कराउँछन् गाई र बाख्रा
गाईको बाँ बाँ बाख्राको म्याँ म्याँ ।

कोरीबाटी गर्न केश फिजाई
खाजा खाएर बहिनी स्कुल गई ।

हलिया छैन म त जान्छु खेत
काम गर्छु आज बहिनीको समेत ।

धेरै छ काम घाम कति चर्को
थकाइ लाग्दा मलाई लाग्छ झर्को ।

म पनि पढ्छु स्कुल जाने
बहिनीसंगै विहान खाजा खाने ।

दिदी र बहिनी खुशी हुँदै मिल्यौं
किताब च्यापी स्कुल हिँड्यौं ।        







Wednesday, 15 October 2014

अस्ती जस्तो लाग्छ ...

          लालीगुरांश
अस्ती जस्तो लाग्छ
तिमीले हेटौडे चप्पल
पिटीक पिटीक पार्दै
बिरोधीबाट आफूलाई छल्दै
तिमी हामी संगै संगै बसेर
कोदाको ढिंडो ख्वाएको
भुटेका मकै भटमास
ग्रयाम ग्रयाम चपाएको
अनि उत्तिसे जंगलभित्रको
कलकल बगेको ध्वाँसे खोलाबाट
कर्कलाको पातमा
पानी ओसारी पिलाएको
ओहो आज तिमी त
चिन्नै नसक्ने पो भएछौ
मैले कालीझार लाइदिएर
ओखती गरी निको भएको
निधारको खतले पो चिनें
हैन तिमीले पो मलाई
चिनेनौ की कसो कि
नचिनेको जस्तो गरेको
म त उही खत्री त हुँनी
मेरो लवाइ खवाइ हेर त
म त जस्ताको तस्तै छु
तिमी पो अचम्मले फेरीएछौ
आइमाइले झैं कपाल पालेछौ
लामा लामा दारीजुँगा पालेछौ
गाउँमा हुँदा बरु घोडा चढ्थ्यौ
तर धन र पद पाएपछि त
बिदेशबाट ल्याएको महगो
पाडो पो चढ्न थाल्यौ रे
हैन कस्ता हुँदारान त
बिदेशीबाट ल्याइएका पाडा
भुइं तित्ता भरी दर्शन ढुंगा
टाँसेको घरमा बस्छौ रे
घर भित्रका कोठाकोठामा
बिना मान्छे आवाज आउँछ रे
आमै, हैन तिमीलाई
साँच्चै डर लाग्दैन भनेका ?
घरमा नचिनेका मान्छे पो
बाटोबाट उठाएर ल्याउछौ रे
धम्की दिदै भेटी देउ भन्दै
फिरौति पो माग्छौ अरे

Tuesday, 14 October 2014

मातृ भूमि नेपाल

              लालीगुरांश   
म जन्मिएको अनि हुर्किएको
मेरो मातृ भूमि नेपाल

राम र सीताको पवित्र थलो
मेरो जन्म भूमि नेपाल

बुद्धले विश्व सामु चिनाएको
मेरो शान्ति भूमि नेपाल

सगरमाथा टोपी ओढेको
मेरो सुन्दर भूमि नेपाल

गोर्खालीले वीरता कमाएको
मेरो गौरव भूमि नेपाल

अनुपम प्रकृतिमा खुलेको
मेरो स्वर्ग भूमि नेपाल

मेरो नेपाल तिम्रो नेपाल हाम्रो नेपाल
सबै नेपालीको नेपाल, जय नेपाल

Monday, 13 October 2014

जाली मायाँ

                             लालीगुरांश
समाजको बन्धन छोडी,
नाता सम्बन्ध सारा तोडी
साथ दिएँ उसलाई
शुखी जीवन बिताउँला भनी
तर निर्दोष मेरो मायाँमा
बिना बर्षात पहिरो गएछ
उसका सबै बाचा र कसमहरु
तृष्णाको भेल भै बगेछ ।

निरस भो जीन्दगी
अन्धकार देख्छु चारैतिर
कहाँ जाउँ कसलाइ पोखुँ
नदेखिने यो मुटुको पीर
सप्तरंगी सपना बुनीदिने
पाएछ उसले अरु नै कोही
कसरी सम्झाउँ यो निर्दोष मनलाई
याद आइरहन्छ हरपल उही ।

फाटेको खुशी सिउन नपाउँदै
मायाँको चिनो बढेर आयो
मायाँको अपमान त सहेकै थिएँ
कोखको लाज सामुन्ने आयो
सन्तानको मायाँ, समाजको तिरस्कार
कसरी सहुँ म यो बदनामको भारी
लाग्दैनथ्यो नारी कमजोर हुन्छन्
तर आफैं आज भएँ अबला नारी ।

टेक्ने समाउने केही छैन,
माथि खुल्ला आकाश तल चिसो माटो
कसरी जिउँ, कसका लागि जिउँ,
समाजले भन्छ बाँच्नु भन्दा मरेकै निको
मेरो चोखो मन अनि निश्छल मायाँ
जालीको फन्दामा परेछ
अर्काको कुभलो गर्दा भलो किन हुन्थ्यो र
ऊ त पक्राउमा जेल परेछ ।

मनमा धेरै मायाँ अनि
थोरै आश लिएर जेलमै भेट्न गएँ
मायाँको सपना, उसको नाशो अनि
समाजको तिरस्कार सबै सुनाएँ
अब त बुद्धि फिर्यो होला भनेर
रिहाइको ब्यबस्था मिलाएँ
उ त केटी बेच्ने दलाल रहेछ,
आफू दिल्लीको कोठीमा पुगेपछि पो चाल पाएँ ।


उ त केटी बेच्ने दलाल रहेछ,
आफू दिल्लीको कोठीमा पुगेपछि पो चाल पाएँ ।


Wednesday, 10 September 2014

बिछोडको पिडा

                     लालीगुरांश
तिमी बिनाको जीन्दगी खै के जीन्दगी
आँशु र तडपमा रुमल्लीेएको जीन्दगी
हाँसु की रोउँ म अलमल छ मनमा
स्पर्सको आभास भैरहन्छ तनमा ।

सँगै हुँदा तनमनको खुशी बाँड्थ्यौं हामी
एक अर्काको खुशीमा रमाउँथ्यौं हामी
एक्लै छु आज रुन्छ यो मन
बिर्सन खोज्छु याद आउँछ झन ।

मनको नजिक रहे पनि तन देखि टाढा भैगयौ
साथ साथै रहने सपना अधुरै रैगयो
आउने दिन तिम्रो बसीरहेछु गनेर
भेटघाटको त्यो दिन कस्तो होला भनेर ।

छुट्टिने मन् त पटक्कै थिएन
बाध्यताको भुमरीले उम्किनै दिएन
कारण जे होस राम्रैका लागि हो
जे गरिन्छ भविश्य कै लागि हो

त्यसैले मन बुझाउने गर्छु, 
जे भयो राम्रैका लागि भो

 तिमी बिनाको जीन्दगी......

Tuesday, 19 August 2014

मातृभूमिको सम्झना

                                     लालीगुरांश
सागरको बिचमा उभिएको प्यासी भैंm
हजारौं मान्छेको भिडमा एक्लो छु म
टाढा टाढा सम्म आँखा ओछ्याउँछु
कतै शब्द साट्ने साथी पाइहाल्छु कि भनेर
तर खै कसलाई फुर्सद छ र यहाँ
मान्छेको मुल्य भन्दा ठूलो पैशानै ठानिन्छ जहाँ ।

समय बित्दै गैरहेछ पल–पल सेकेन्ड
मिनेट अनि घण्टा भएर
कति चाँडो बर्षौं बितिसकेछ पत्तै भएन
कोशौं मिलौं टाढा हुँदा पनि 
मातृभूमिको तिर्सना कम भएन ।

हत्केला सुङदा मातृभूमिको 
माटोको सुवास आउँछ
छातीमा हात राख्दा
आमाको न्यानो स्पर्सको भान हुन्छ
कस्ता भए होलान लडिबुडि खेल्दै हुर्किएका 
ति धूले आगन अनि बाटाहरु
कस्ता भए होलान मलाई हुर्काउने ति हातहरु
अनि कहिल्यै मायाँ नरित्तिने ति छातीहरु ।

खै किन किन आज मातृभूमिको यादले 
मेरो भावनालाई तरल बनाईरहेछ
आवश्यकता र बाध्यताले अर्काको मुलुक तिर 
छेउ लगाए पनि 
पुराना याद अनि भावनाको भुमरीले 
मतृभूमि तिरै खिचिरहन्छ ।





Wednesday, 6 August 2014

तितो सत्य

                                    लालीगुरांश  
कहिल्यै नथाक्ने समाजसेवीहरुले
सेवा र आदर्श बाँडीरहेछन्
ठसठस गन्हाउने कुख्यातीहरुले
भ्रष्टाचारको दुर्गन्ध फ्याकीरहेछन् ।

गरिबीको अगुल्टो ठोसी ठोसी
अनुदान र ऋणको मुस्लो सल्काइरहेछन्
गरिवको ढाडलाई पिर्का ठानेर
गजधम्म बसी धार्नीको ह्याकुलो सेकाइरहेछन् ।

भन्छन् आगो र पानीसँग नखेल्नु
दुबै खतरनाक हुन्छन्
आगोले डढाउँछ, पानीले बगाउँछ ।

साँच्चै यो तथ्य प्रमाणित नै भयो
जनताको आक्रोसको आगो र
जनलहरको भेलले
कतिलाई डढायो, कतिलाई बगायो ।

जनताकै भेल र डढेलोबाट
कति शहिद भए, कति अलपत्र परे,
कति मरे, कति मुस्किलले बाँचे,
कतिलाई होस आयो, कतिलाई आएन
यति हुँदा पनि अझै देशले सही नेतृत्व पाएन ।

कहिले जन्माउलिन नेपाल आमाले
गान्धी, मण्डेला, देंगस्यावोपिंग जस्ता पिता
अनि कहिले पाउलान नेपाली जनताले
टेरेसा, नाइटिंगेल जस्ता माता ।

Wednesday, 30 July 2014

धोका

        लालीगुरांश
मुटुभरी विश्वासको दियो जलाई
तिमीलाई पत्याउनु भूल रहेछ
तिम्रो कुटील सदभाव मेरोलागि
बिषालु पदार्थको मूल भएछ

तोड्नु नै रहेछ मेरो विश्वास
ममताको ढोङ तिमीले किन गर्यौ
झुठो आश्वासन मलाई दिई
मेरो भरोसालाई खोक्रो किन पार्यौ

तिमीले पिलाए बिषै पिउँथें 
आफू मरेर तिमीलाई जियाउथें
धोका गरी बिष किन पिलायौ
साधुको रुपधरी अहिले कता हरायौ

मानवता तिम्रो हराए पनि
कम्तिमा दैवको ख्याल गर
आज मरे भोलि दुई दिन हुन्छ
यो जिउज्यानको के नै छर भर

Saturday, 21 June 2014

ऋतुराज

                             लालीगुरांश
साथी हो वसन्तका दिन आए
नांगा रुखमा पालुवा पलाए
उड्छे पुतली घरी यता उता
भुँ भुँ भमरा फूल जता जता ।

आगमन भयो ऋतुराजको
बिदा भयो ठण्डा शीतऋतुको
कोइलीले गायो स्वर भरेर
वनपाखामा संगीत छरेर ।

मृग र कस्तुरी खेल्छन् रमाई
झुल्दछन् बाँदर हाँगा समाई
नाच्छन् मयुर पंख फिजाई
गर्जन्छन् सिंह सबलाई तर्साई ।

बालबालिका खेल्छन् चउरमा
पर्दै दंग वसन्तको खुशीमा
घरी कपर्दी घरी डुँडीखुट्टी
घरी गुच्छा अनि घरी गुलेली ।

विहानी पख शीत रानी हाँस्छिन्
घाम देखे पछि लाजले लुक्छिन्
ढकमक्क फूल फूलबारी भरी
रस चुस्छे मौरी फूल् फूल् चहारी ।


Thursday, 10 April 2014

म नेपाली ठिटो

                                लालीगुरांश   
नेपाल आमाको सन्तान हुँ म
म नेपाली ठिटो
आमालाई हँसाउने सपना छ मिठो ।


पूर्बमा मेची पश्चिममा महाकाली
सिमाना म साँध्छु
शत्रुलाई धपाउन खुकुरी म झिक्छु ।


सन्तानलाई मायाँ गर, नगर काखापाखा
रगत सबको रातै हुन्छ
जात एउटै मान्छे त हो किन शाखा शाखा ।


साथ अनि काख रहोस आमा सधैं तिम्रो
स्वतन्त्र भई फूलिरहु
सयौं थुंगा गाँसीरहु, सिंची रगत हाम्रो ।



Wednesday, 9 April 2014

कोइली

                        लालीगुरांश
कोइलीको भाका चोरी
गाउँकी जस्तो लाग्यो,
माथि माथि आकाशमा
उड्न मन लाग्यो।

उडु भने छैन आङ्गमा
पखेटा र प्वाँख
कोइली उड्दा हेर्न मलाई
लाग्छ साह्रै सोख ।

कुहुकुहु गर्दै गाउँछे
कति मिठो स्वर
गीत गाउँदै गुञ्जाउँछे
प्रकृतिको घर ।

वसन्तको संकेत अरे
कोइलीको बोली
सुनीरहुँ जस्तो लाग्छ
मनको ढोका खोली ।

वसन्त र कोइलीको
नाता कति गाडा
न्जिक हुन खोज्छु जति
कोइली भाग्छे टाढा ।




Saturday, 8 March 2014

महिला बोझ होइन, महिलालाई बोझ छ यहाँ.........

                                               लालीगुरांश

जन्मदेखि मृत्युसम्म महिलामाथि अन्याय गरिन्छ यहाँ 
नजन्मीदै छोरी भ्रुणलाई तुहाउन खोजिन्छ यहाँ 
जन्माइयो भनेपनि छोरीलाई नाशोमात्र ठानिन्छ यहाँ 
बढाउँदा, पढाउँदा छोराछोरीमा भेदभाव गरीन्छ यहाँ 



मौका आए दिइदैन तँ छोरी भनी पछि धकेलिन्छ यहाँ
यौवन टेक्न नपाउँदै छोरीलाई डोली चढाइन्छ यहाँ
छोरीलाई डोली चढाउन ठुलै धनराशी चाहीन्छ यहाँ
गोत्र परिवर्तनका नाममा छोरीको पहिचान गुमाइन्छ यहाँ 



अझ कतैकतै त जन्मदाताबाट नै छोरीलाई बेचिन्छ यहाँ
छोरी जस्ति बुहारीलाई दाषीकै स्वरुप ठानिन्छ यहाँ 
वंश चलाउन छोरो नै जन्माउन बाध्य गराइन्छ यहाँ 
छोरीमात्र जन्माउनेलाई अपुत्रको संज्ञा दिइन्छ यहाँ 



अशुभ केही भयो भने महिला अलच्छिन ठहरिन्छिन् यहाँ 
महिला अघि सरीन भने पोथी बास्यो भनिन्छ यहाँ 
धेरैजसो जिम्मेदारी महिलाको काँधमा हालिन्छ यहाँ 
तापनि महिलालाई केही नगर्नेको उपमा दिइन्छ यहाँ 



दोष केही लागीहाले महिलाको अग्निपरिक्षा लिइन्छ यहाँ
विपरीत लिंगको दोषलाई पितृसत्ताको छाता ओढाइन्छ यहाँ 
पतिको देहान्त हुँदा पतिटोक्वी अलच्छिना भनिन्छ यहाँ 
महिलालाई जीवनभरी विध्वारुपी सजाय दिइन्छ यहाँ 



पत्नीको देहान्त हुँदा खुट्टा भए जुत्ता कति..भनिन्छ यहाँ 
कुरीति अनुसार चलिनन् भने छाडाको उपमा दिइन्छ यहाँ 
अनुसासनको नाममा महिलाको स्वतन्त्रता खोसिन्छ यहाँ 
आवाज उठाए आत्महत्याको मौन स्वीकृति दिइन्छ यहाँ 



केही नलागे धर्मको आडमा महिला हत्या नै गरिन्छ यहाँ
तर जे होस महिलालाइ देवी मानिने नाटक गरीन्छ यहाँ 
जन्म देखि मृत्युसम्म रंगमञ्चमा झैं खेल खेलिन्छ यहाँ
अतः महिला बोझ होइन महिलालाई बोझ बोकाइन्छ यहाँ 
हे धर्ती! हे आकाश!! भन हामी महिला अव जाऊँ कहाँ ??? -२ 

Friday, 14 February 2014

जीवन साथी

                 लालीगुरांश
केवल साथी होइन तिमी
साथी भन्दा माथि छौ 
जीवनको अटुट बन्धन तिमी
तिमी जीवन साथी हौ ।।

तिम्रो अटुट साथ पाउँदा
अमुल्य भएकोछ जीवन यो 
नजरबाट तिमी ओझेल हुँदा
अनायासै चर्कीदिन्छ हृदय यो ।।

पलपलका यादहरु सम्झनामा छाईदिदा
रसाईदिन्छन् झुकेका यी परेलीहरु 
सपनीमा सुटुक्क तिमी आईदिदा
मगमग वसाईदिन्छन् मनका तरेलीहरु ।।

भौतिक दुरीले नछेक्ने रहेछ
हृदयमा उर्लिने प्रेममय भावहरुलाई 
तनका आँखाले नदेख्ने रहेछ
भावुकतामा मिसिएका अनगिन्ती तडपहरुलाई ।।

तनका आँखाले नदेख्ने रहेछ
भावुकतामा मिसिएका अनगिन्ती तडपहरुलाई ।।