Wednesday, 15 October 2014

अस्ती जस्तो लाग्छ ...

          लालीगुरांश
अस्ती जस्तो लाग्छ
तिमीले हेटौडे चप्पल
पिटीक पिटीक पार्दै
बिरोधीबाट आफूलाई छल्दै
तिमी हामी संगै संगै बसेर
कोदाको ढिंडो ख्वाएको
भुटेका मकै भटमास
ग्रयाम ग्रयाम चपाएको
अनि उत्तिसे जंगलभित्रको
कलकल बगेको ध्वाँसे खोलाबाट
कर्कलाको पातमा
पानी ओसारी पिलाएको
ओहो आज तिमी त
चिन्नै नसक्ने पो भएछौ
मैले कालीझार लाइदिएर
ओखती गरी निको भएको
निधारको खतले पो चिनें
हैन तिमीले पो मलाई
चिनेनौ की कसो कि
नचिनेको जस्तो गरेको
म त उही खत्री त हुँनी
मेरो लवाइ खवाइ हेर त
म त जस्ताको तस्तै छु
तिमी पो अचम्मले फेरीएछौ
आइमाइले झैं कपाल पालेछौ
लामा लामा दारीजुँगा पालेछौ
गाउँमा हुँदा बरु घोडा चढ्थ्यौ
तर धन र पद पाएपछि त
बिदेशबाट ल्याएको महगो
पाडो पो चढ्न थाल्यौ रे
हैन कस्ता हुँदारान त
बिदेशीबाट ल्याइएका पाडा
भुइं तित्ता भरी दर्शन ढुंगा
टाँसेको घरमा बस्छौ रे
घर भित्रका कोठाकोठामा
बिना मान्छे आवाज आउँछ रे
आमै, हैन तिमीलाई
साँच्चै डर लाग्दैन भनेका ?
घरमा नचिनेका मान्छे पो
बाटोबाट उठाएर ल्याउछौ रे
धम्की दिदै भेटी देउ भन्दै
फिरौति पो माग्छौ अरे

No comments:

Post a Comment