लालीगुरांश
मैले पाएको उपमा गाउँले कवि    २
किनकी म गाउँको सुन्दरतामा
अक्षर बुन्छु, निर्दोष प्राणीहरूको ढुकढुकी सुन्छु
चोखो प्रकृतिको प्रत्यक्ष्य स्पर्समा हुन्छु
खुल्ला आकाशमा उडेका
चराहरूसंग भावनामा उड्छु
चोखो गाउँले मायाँको सागरमा डुबुल्की खेल्छु
किन की म हुँ गाउँले कवि । 
गाईको बाँ बाँ अनि बाख्राको म्या म्यामा
भेरा सिर्जनाहरू टुसाउँछन्     २
चैते धूलो अनि असारे हिलोमा
मेरा भावनाहरू मुस्काउँछन्
ग्रीष्मको गर्मी अनि वर्षाको वर्षातमा
मेरा सिर्जनाका मुलहरू रसाउँछन्
अनि त्यहीं नेर मेरा भावनाहरुले वस्ती वसाउँछन्
किन की म हुँ गाउँले कवि । 
दर्के वर्षातमा पातमा बज्ने बाजाले
मेरा भावनालाई चन्चले पार्छन्      २
हावासंगै सुसेल्दै गित गाउने सल्लाहरूले
मलाई छम् छम् नचाउँछन्
खोलाको बगरमा चुच्चो जोडी बसेका
चखेवाका जोडीले आपसमा प्रेम पोख्दा
ममा प्रेमको भावना जगाउँछन्
प्रकृतिको मायाधारी लिला देख्दा
मेरो अंग अंग लजाउँछन्
किनकी म हुँ गाउँले कवि । 
पतझरमा प्रकृति नाङ्गीदा प्रकृतिसंगै
मेरा भावनाहरूले पनि आराम गर्छन      २
वसन्तमा प्रकृति रङ्गीदा प्रकृतिसंगै
मेरो भावनाहरूले पनि काँचुली फेर्छन्
अनि म भमरा र पूmलको कविता लेख्छु,
झरी र वादलको कविता लेख्छु,
गाउँले गोरे र जुठेको कविता लेख्छु
यिनै गाउले विषयहरूमा
साहित्य सिर्जना गर्दै जान्छु
किनकी म हुँ गाउँले कवि ।
चाडवाड अनि विहे र रत्यौलीमा बज्ने
पंचे र नौमती बाजाहरूमा    २
साहित्यको राग खोज्छु
भावनामा तरङ्गीने रागको झिनो डोरीमा
अक्षरलाई शब्द बनाई वाक्यहरूको माला उन्छु
कहिले रमाइला र सुखद क्षणहरूमा
मनै देखि खिलखिलाई हाँस्छु
अनि कहिले कारुणिक भोगाइहरूमा
हार गुहार गर्दै चिच्याएर रुन्छु
किनकी म हुँ गाउँले कवि । 
त्यसैले त मैले पाएँ उपमा गाउँले कवि
किनकी म गाउँमै रमाउँछु, 
गाउँमै लड्छु, गाउँमै भिड्छु
गाउँमै जित्छु, गाउँमै हार्छु
गाउँमै जिउँछु अनि, गाउँमै मर्छु
किन की म हुँ गाउँले कवि   २ 
No comments:
Post a Comment