Saturday, 26 November 2022

गुरुको ज्ञान अति नै महान

                                                 लालीगुरांश  (सिर्जना भण्डारी)


गुरुको ज्ञान अति नै महान -२

सदगुरुदेव तिमीबाट पाएको परम ज्ञानको ज्योतिले

म भित्रको अहंकार र अभिमान टुट्यो

लोभ र इष्र्या गर्ने बानी छुट्यो

माया र मोहको जाल छिन्यो

काम,  क्रोध र वासनाको अवगुण हट्यो

कर्म बन्धनको गाँठो फुक्यो

तिमीलाई कोटी कोटी नमन् गर्दछु 

तिम्रो नित नित बन्दना गर्दछु। -२


गुरुको ज्ञान अति नै महान -२

सदगुरुदेव तिमीबाट पाएको परम ज्ञानको ज्योतिले

मेरो मनमा सेवाको भाव उठ्यो

हृदयमा प्रेमको मूल फुट्यो

चेतनामा आएको दिगो जागरणले

जीवनमा सहजता र सरलता ल्यायो

ध्यानको गहिराई म मा छायो

म को हुँ र किन यहाँ छु भन्ने

सास्वत सत्य मेरो वोधमा आयो

तिमीलाई कोटी कोटी नमन् गर्दछु 

तिम्रो नित नित बन्दना गर्दछु। -२


गुरुको ज्ञान अति नै महान -२

सदगुरुदेव तिमीबाट पाएको परम ज्ञानको ज्योतिले

मैले आफैं भित्रको सुख, खुशी र शान्तिलाई भेटें

आत्मा अमर हुन्छ भन्ने ज्ञानलाई जानें

विजब्रह्म परमात्माको सानिध्य पाएं

जन्मौं जन्मका लागि मुक्तिको बाटो समाएं

मोक्षलाई मेरो एकमात्र लक्ष्य बनाएं

तिमीलाई कोटी कोटी नमन् गर्दछु 

तिम्रो नित नित बन्दना गर्दछु। -२


गुरुको ज्ञान अति नै महान -२

सदगुरुदेव तिमीबाट पाएको परम ज्ञानको ज्योतिले

मैले म भित्रको सास्वत 'म' लाई भेटें

मेरोलाई छोडेर यही सास्वत 'म' लाई अंगालें

आफूभित्र सबैलाई देख्न सकें

सबैभित्र आफुलाई खेख्न सकें

यही जीवनमा परम-आनन्दको पथ भेटाएं

तिमीलाई कोटी कोटी नमन् गर्दछु 

तिम्रो नित नित बन्दना गर्दछु। -२


गुरुको ज्ञान अति नै महान -२

सदगुरुदेव तिमीबाट पाएको परम  ज्ञानको ज्योतिले

यो भौतिक संसारको माया रुपलाई जानें

त्यो पराभौतिक संसारको दिव्यतालाई बुझें

वर्तमान क्षणको महत्व बुझेर पलपल सजग भएं

विचारको शक्तिलाई समाएर साक्षीमा रमाएं

चेतनालाई बढाएर ब्रम्हान्डको माथि–माथि पुर्याएं

आफ्नो जीवन सहज बनाएं

अरुको सेवा र परोपकारमा लागें

तिम्रो जीवनभरको त्यागलाई फूलाएं

तिमीले दिएको परम-ज्ञानलाई अझ माथि उठाएं 

तिमीलाई कोटी कोटी नमन् गर्दछु 

तिम्रो नित नित बन्दना गर्दछु। -२


                                                     अस्तु            


No comments:

Post a Comment