Wednesday, 9 November 2022

प्रेम

                                           लालीगुरांश  (सिर्जना भण्डारी)

प्रेमको कुनै रुप हुदैन

यो त हृदयको मिठो अनुभूति हो

जव कसैको याद स्वयंको भन्दा  

अधिक मधुर र मिठो लाग्छ

त्यहि मिठास नै सास्वत प्रेम हो

उसैको यादमा डुब्नु दिगो प्रेम हो

उसलाई पलभर नभुल्नु दिव्य प्रेम हो ।


प्रेमको कुनै रंग हुदैन

यो त अदृश्य जगमग ज्योती हो

प्रेमले मनका कुनाकुनामा प्रकाश छर्छ

इहलोक परलोक ज्योर्तिमय बनाउँछ

आफैं भित्रको सुख र शान्ति प्रकट गरि

पलपल परम–आनन्दमा जिउन सिकाउँछ 

प्रेमले नै जिवन स्पर्गतुल्य बनाउँछ ।

प्रेमको कुनै जात हुदैन 

यो त स्वयंको हृदयबाट प्रष्फुटित श्रद्धा हो

यसले कसैलाई ठूलो सानो भन्दैन

सबैमा उही एउटै परमात्मा देखाउँछ

सबैलाई आफूभित्र समेट्न सिकाउँछ

तँ र म को भेद छुट्याउँदैन

हामी भन्ने समुहिक भाव जगाउँछ ।


प्रेमको कुनै स्वाद हुदैन

यो त निरन्तर वर्षिरहने अमृत वर्षा हो

जसले महा ओखतीको काम गर्छ 

जिवनका अवसादहरुबाट मुक्ति दिलाउँछ

स्थुल–मन–भाव– र चेतन शरिरलाई

सवल, स्वस्थ्य र तनदुरुस्त बनाउँछ 

शरिरबाटै परमात्माको मार्ग सदृश्य गराउँछ ।


प्रेमको कुनै आकार हुदैन 

यो त निराकार सास्वत सत्य हो

जो सीमाहिन विराट स्वरुपमा छ

पुरै ब्रम्हान्ड प्रेममै टिकेको छ 

प्रेमकै कारण तिमी छौ, म छु

निराकार प्रेमको कुण्डमा तैरीरहेछौं

जो अनुभूतिमा मात्र छ, दृश्यमा शुन्य छ ।


No comments:

Post a Comment