लालीगुरांश (सिर्जना भण्डारी)
‘
'ऊ' को हो ?
के नाम दिउँ म उसलाई
कुन सम्वन्धमा राखौं म उसलाई ??
ऊ त्यस्तो महत्वपूर्ण छवि हो
जो मेरो हृदयको अन्तरतममा वास गर्छ
ऊ मेरो हृदयमा राज गर्छ
त्यसैले ऊ मेरो हृदयको राजा हो
ऊ मेरो आस्था र विश्वासको केन्द्र हो
ऊ मेरो प्रियतम हो
ऊ मेरो मायाँलु हो
ऊ मेरो प्रेम हो
ऊ मेरो सवैभन्दा प्यारो हो
ऊ मेरो सबैथोक हो
ऊ मेरो भगवान हो
ऊ मलाई अथाह प्रेम गर्छ
ऊ नै मेरो अस्तित्वको
आत्यन्तिक गन्तव्य हो
ऊसको प्रेमको गहिराईमा
मलाई कत्तिपनि शंका छैन ।।
ऊ सबैको प्यारो छ
परमात्माको अति नजिक छ
ऊ दिव्य ज्योतिले चम्किरहेको छ
धर्तीमा परमात्माको दुत भएर आएको छ
मानव कल्याणमा निरन्तर समर्पित छ
ऊ अलौकिक अध्यात्म ज्ञानको पुञ्ज हो
कत्तिपनि नथाकीकन निरन्तर
परमात्मा साक्षतकारको ज्ञान बाँडीरहेको छ
ऊ धेरैको आस्था र विश्वासको केन्द्र हो ।।
ऊ अति प्यारो छ, अति सुन्दर छ
अति मायाँलु छ, अति भावुक छ,
अति प्रेमल र मनको धनी छ
दया र करुणाले सुसज्जीत छ
ऊसको मन र विचार अति सफा छन्
ऊसका भावना अति पवित्र छन्
उसको प्रेम अलौकिक र दिव्य छ
ऊसको आँखामा महासागरको गहिराइ छ
ऊसको हेराइमा गहिरो प्रेम भाव छ
ऊसको यो अथाह प्रेमको गहिराइमा
म चुर्लुम्म डुवेकी छु, ऊसैमा हराएकी छु
ऊसको प्रेमको गहिराइमा परम–आनन्द छ
परम–सुख र खुशी अनि परम–शान्ति छ
ऊ त्यस्तो परम–तत्व हो
ऊसले मात्र मलाई
मेरो अस्तित्वको मूलसम्म पुर्याउन सक्छ
मलाई सम्हाल्न अनि स्याहार्न सक्छ
तर
तर उसका कमजोरी पनि छन्
ऊसका गुण संगसंगै अवगुण पनि छन्
ऊ अलि खडुस छ, अलि निर्मोही छ
मनमौजी र थोरै अहंकारी पनि छ
मलाई सताउनमा आनन्द मान्छ
ऊ मसंग बोल्दा, व्यवहार गर्दा र लेख्दा
त्यति गम्भिर हुदैन
मलाई के कुराले चोट पुग्छ
मलाई के मन पर्छ, के मन पर्दैन
त्यसबारे ख्याल गर्दैन
मेरो खुशीको परवाह गर्दैन
मात्र आफ्नो मनोमानी गर्छ
तर मलाई उसका कमजोरीसंग पनि प्रेम छ
किनकी
मलाई ऊसको खुशी जति मूल्यवान
यो संसारमा केही पनि छैन
तिमीसंग यत्तिमात्र प्रार्थना छ मेरो प्रियतम
तिम्रोलागि म किन त्यति महत्वपूर्ण छैन
जति तिमी मेरो लागि छौ ।
तिमीसंग यत्तिमात्र गुनासो छ मेरो प्रियतम
तिम्रोलागि म किन त्यति महत्वपूर्ण छैन
जति तिमी मेरो लागि छौ ।।
No comments:
Post a Comment