Tuesday, 12 July 2022

गुरुको छवि अति नै खास छ

                                    लाली गुरांश (सिर्जना भण्डारी)


हरेक शिष्यको हृदयमा गुरुको छवि अति नै खास छ –२

किनकी गुरुको हृदयमा

सारा जगतलाई अध्यात्म सिकाउने गहिरो प्यास छ । –२


गुरु, विज ब्रह्म महायज्ञको आयोजना गरि गरि –२

शिष्यलाई विज ब्रह्मनादको श्रवण गराउँछ

किनकी, गुरुको छवि अति नै खास छ

गुरुको हृदयमा ॐ कार अक्षरादतित विज ब्रह्मको वास छ । –२


आफू भित्रै परमात्माको वास छ, यो सत्य जान्दैन शिष्य –२

गुरुले, शिष्यलाई आफू भित्रको परमात्मासंग साक्षातकार गराउँछ

किनकी, गुरुको छवि अति नै खास छ

गुरुका हर अंगका कणकणमा परमात्माको वास छ । –२


गुरु, आफ्नो हजार सुर्य समान असीम आभा क्षितिजमा फैलाउँछ –२

हरेक शिष्यलाई ब्रह्माण्डको सत्य–तथ्य सिकाउँछ 

किनकी, गुरुको छवि अति नै खास छ

गुरुको असीम आभा मण्डलमा सारा ब्रह्माण्डको राज छ । –२


सेवा, प्रेम, दया र करुणाको सहि मर्म जान्दैन शिष्य –२

गुरु, हरेक शिष्यलाई सेवा, प्रेम, दया र करुणाको मर्म र महत्व सिकाउँछ 

किनकी, गुरुको छवि अति नै खास छ

गुरुको हृदयमा माता, पिता, बन्धु, सखा र इश्वरको वास छ । –२


गुरु व्यक्ति होइन भक्ति र ज्ञानको महासागर हो –२

गुरु, हरेक शिष्यलाई गुणाँतित् बन्ने महाज्ञान सिकाउँछ 

किनकी, गुरुको छवि अति नै खास छ

गुरुको हृदयमा वेद-वेदान्त महाज्ञानको अपार भण्डार छ । –२


शरिर नै म हुँ भन्ने भ्रममा असली ‘म’ लाई चिन्दैन शिष्य –२

गुरु, हरेक शिष्यलाई म देखि म सम्मको यात्राको बाटो देखाउँछ

किनकी, गुरुको छवि अति नै खास छ

गुरुको हृदयमा हरेक शिष्यलाई अध्यात्म सिकाउने गहिरो प्यास छ । –२

                          अस्तु


No comments:

Post a Comment