Sunday, 20 July 2025

भगवान श्री शिवमा पुकार

               लालीगुरांश  (सिर्जना भण्डारी)


ॐ नमः शिवाय... शिवाय ॐ नमः...
हे, त्रिनेत्रधारी जगतका स्वामी
चक्षु खोल, समाधि तोड
संताप, व्याधि सबै हटाउ
तिम्रो नाममा चलेका विकृति
पाखण्डहरुको समूल अन्त्य गराऊ !

हे, वासुकीधारी ब्रम्हाण्डकै देवाधिदेव
मौन तोड, वाणी खोल
विध्वंस, असुरक्षा सबै हटाऊ
तिम्रो स्वरुपको प्रताप फिजाई
व्यभिचारहरुको समूल प्रलय गराऊ !

हे, डमरुभारी नृत्यांग नटराज
योग सिकाउ, भक्ति जगाऊ
नकार, तमस सबै हटाऊ
तिम्रो ताण्डवको लय सिकाई
मानव जगतलाई कर्मशील बनाऊ !

हे, कैलाशवासी कल्याणकारी परमपिता
सबैमा अटाऊ, पुण्य सिकाऊ
अधर्म, अन्धविश्वास सबै हटाऊ
तिम्रो अनन्त पंख फिजाई
सारा जगतलाई आफैंमा समाऊ !

ॐ नमः शिवाय... शिवाय ॐ नमः...



No comments:

Post a Comment