Sunday, 27 July 2025

सबैतिर तिमीनै तिमी शिव

                           लालीगुरांश  (सिर्जना भण्डारी)

शिव~~~ शिव~~~ शिव~~~
सबैतिर मात्र तिमीनै तिमी
ब्रम्हाकास तिमीनै, तिमीनै चिदाकास
हरसोच भन्दा पर तिम्रै दिव्य प्रकाश
म कहीं छैन मात्र तिमी नै तिमी
मात्र तिमी नै तिमी, मात्र तिमी तिमी          
               सबैतिर मात्र तिमी शिव~~~ शिव~~~ 

न म शरीर हुँ, न म मन हुँ
न म भाव हुँ, न म अहंकार हुँ
म त सिर्फ तिम्रै एक अंश हुँ
सिर्फ तिम्रै एक अंश, सिर्फ एक अंश
               सबैतिर मात्र तिमी शिव~~~ शिव~~~ 

जे तिमी चाहान्छौ त्यही म बनुँ
हरपल तिम्रै सानिध्य मिलिरहोस
पलपल तिम्रो स्मरण रहिरहोस
तिम्रो स्मरणम रहिरहोस, मात्र तिम्रो स्मरण
                     सबैतिर मात्र तिमी शिव~~~ शिव~~~ 

तिम्रो चरणबन्दना गाउन कुनै शव्द छैन
नितनित सिर्फ मेरो मौन चढाउँ
क्षणक्षण तिम्रो दिव्य प्रकाशमा म बिलाउँ
तिम्रो दिव्य प्रकाशमा म बिलाउँ, तिमीमै म बिलाउँ
                    सबैतिर मात्र तिमी शिव~~~ शिव~~~  

ब्रम्हाकास तिमीनै, तिमीनै चिदाकास
हरसोच भन्दा पर तिम्रै दिव्य प्रकाश
म कहीं छैन मात्र तिमी नै तिमी
मात्र तिमी नै तिमी, मात्र तिमी तिमी          
                     सबैतिर मात्र तिमी शिव~~~ शिव~~~

हे शिव ! तव तिमीलाई पाएं

                      लालीगुरांश  (सिर्जना भण्डारी)


मैले विकारलाई छोडें सकार समाएं
अनि भोगलाई छोडें योगमा आएं
हे शिव, तव तिमीलाई पाएं ।

मैले लोभलाई त्यागें सेवामा रमाएं
अनि मोहलाई त्यागें आफूलाई भेटाएं
हे शिव ! तव तिमीलाई पाएं ।

मैले शरीरभन्दा परको पंचतत्व बुझें
अनि अन्तःकरणभन्दा परको अमृतरस पिएं
हे शिव ! तव तिमीलाई पाएं ।

मैले बन्द आँखामा तिमीलाई देखें
अनि मौन चित्तमा तिमीलाई जानें
हे शिव ! तव तिमीलाई पाएं ।

मैले न्यून अहंकारमा अस्तित्व भेटें
अनि खुल्ला हृदयमा सबैलाई समटें
हे शिव ! तव तिमीलाई पाएं ।

अनि खुल्ला हृदयमा सबैलाई समटें
हे शिव ! तव तिमीलाई पाएं ।।

 


Saturday, 26 July 2025

मौन नै प्रेम...

                            लालीगुरांश  (सिर्जना भण्डारी)

हरेक स्रष्टाका आ-आफ्ना गुणहरु हुन्छन्
वर्षातका रिमझिमले चिसो शितलता दिन्छन्
फक्रिएका फूलहरुले मिठो सुवास दिन्छन्
विगतका पलहरुले अविस्मरणीय स्मृति दिन्छन्
कसैले जिन्दगीमा प्रेमको तृप्ति भरिदिन्छन्
कसैले आत्मानै प्रेमलाई बकस गरिदिन्छन्
अनि चुपचाप आत्मानन्दको मौनमा हराइदिन्छन् !

किनकी 
प्रेम आत्माको अनुपम सौन्दर्य हो
प्रेमको सौन्दर्य हृदयको मौनमा हुन्छ 
प्रेमले ओतप्रोत हृदयले आत्मियता छर्छ
आत्मियता केवल हृदयको मौनमा हुन्छ
हृदयको मौनलेनै जीवनमा परमआनन्द भर्छ
हृदयको परमआनन्दमै प्रेमको फूल फूल्छ
आत्माको परमशन्तिमै परमात्माको उदय हुन्छ
मेरा हरखुशीहरु तिमीबाटै शुरू हुन्छन्
तिम्रै हृदयको मौनमा बिलय हुन्छन् 
खुशीहरू योभन्दा कममा राजी छैनन्
योभन्दा बढिको आकांक्षी पनि छैनन् !!


Sunday, 20 July 2025

भगवान श्री शिव महिमा

लालीगुरांश  (सिर्जना भण्डारी)


यो सारा लोकमा शिवको महिमा
गाउँदै, नाच्दै पर्व मनाऔं सबले
प्रभुको दिव्य दर्शन गरेर हामी
पूजन गरौं शुद्ध तन, मनभावले ।
                यो सारा लोकमा...

आराध्य तिमीनै सबको मनका स्वामी
सबैको पुकार सुन्ने दिव्यताका राज
मनको कुनाकुनामा वास छ तिम्रै
सर्वव्यापक तिमी हरेकमा तिम्रै वास ।
                यो सारा लोकमा...

आयौं तिम्रो शरणमा जय भोलेबाबा
तिम्रै भरोसा अव यो जीवनमा
तिमीनै सबको प्राणका मूल आधार
भवसागरबाट पारलगाऊ हे जगतका पालनहार ।
               यो सारा लोकमा...

कणकणमा स्थित विभु छौ तिमी
हे, शिवशम्भु जगतमा तिम्रै राज
गाउछौं हृदयमा तिम्रै भक्ति, स्तुति
दुःख हरेर देऊ हामीलाई त्राण ।
              यो सारा लोकमा...

भगवान श्री शिवमा पुकार

               लालीगुरांश  (सिर्जना भण्डारी)


ॐ नमः शिवाय... शिवाय ॐ नमः...
हे, त्रिनेत्रधारी जगतका स्वामी
चक्षु खोल, समाधि तोड
संताप, व्याधि सबै हटाउ
तिम्रो नाममा चलेका विकृति
पाखण्डहरुको समूल अन्त्य गराऊ !

हे, वासुकीधारी ब्रम्हाण्डकै देवाधिदेव
मौन तोड, वाणी खोल
विध्वंस, असुरक्षा सबै हटाऊ
तिम्रो स्वरुपको प्रताप फिजाई
व्यभिचारहरुको समूल प्रलय गराऊ !

हे, डमरुभारी नृत्यांग नटराज
योग सिकाउ, भक्ति जगाऊ
नकार, तमस सबै हटाऊ
तिम्रो ताण्डवको लय सिकाई
मानव जगतलाई कर्मशील बनाऊ !

हे, कैलाशवासी कल्याणकारी परमपिता
सबैमा अटाऊ, पुण्य सिकाऊ
अधर्म, अन्धविश्वास सबै हटाऊ
तिम्रो अनन्त पंख फिजाई
सारा जगतलाई आफैंमा समाऊ !

ॐ नमः शिवाय... शिवाय ॐ नमः...