Tuesday, 3 March 2015

बुढेस काल

                                      लालीगुरांश
चुँडीएको चङ्गा झैं गन्तब्य बिहीन पाइलाहरु
घस्रदै, लखर लखर अघि बढ्दा छन्
तर जीन्दगी पछि हट्दो छ
कहाँ पुगेर टुङ्गीने हो यो यात्रा
पहिल्याउनै मुस्कील छ ।

हिजोसम्म स्वर्ग झैं लाग्ने यो जीवन
आजभोलि दिन दिन बोझ बन्दो छ
गरौं के गरौं जाऊँ कहाँ जाऊँ
उमेर छँदाका इच्छा चाहना जाँगर सबै मरीसके
सपनामा फुलाएका फूल सबै ओइलाएर झरीसके ।

भन्छन् बृद्ध-बृद्धा परिवार र समाजका बोझ हुन् रे
राष्ट्रिय बिकासका लागि अनुत्पादक भए रे
त्यसैले, बगेको पानीले मास्तीरको बाटो बिर्से झैं
नयाँ पुस्ताले पनि पुरानो पुस्तालाई बिर्सन थाल्यो
यो उराठ लाग्दो जीवन अब त आफैंलाई बोझ हुन थाल्यो ।

समय बलवान छ यसले कसैलाई पर्खदैन
बाटो एउटै हो सबैको पालो एक दिन आउँछ
अरुलाई परेको कसले जान्दछ र
आफुलाई परेपछि पो चाल पाउँछ
प्रकृतिको नियम न हो कसले यसलाई मेटाउँछ ?

त्यसपछि सबैको उही त हो, गन्तब्य बिहीन बाटो
गन्तब्य बिहीन पाइला, गन्तब्य बिहीन जीन्दगी
यमराजको प्रतिक्षा अनि जीवनको अन्तिम यात्रा ।

No comments:

Post a Comment