Sunday, 1 March 2015

गरिव भरिया

                               लालीगुरांश (सिर्जना भण्डारी)

आगै वल्ला जस्तो रापिलो घाम अनि  
टोपी नै खस्ला जस्तो ठाडो उकालोमा  
खुई खुई गर्दै घरी पसिना पुछ्दै
ढाडमा आफु भन्दा बोझिलो भारी बोकेर
सकी नसकी बाटो नापिरहेछ
त्यो गरिव भरिया धन कमाउने सपना साँचेर


काम फत्ते गरेको कमाइ उसको हातमा
किनमेल गर्न हत्तपत्त हाट दगुर्छ
हाट पुग्नु अघि उसका मानसपटलमा
घरका समस्याहरु तछाड मछाड गर्छन्
मुठ्ठीको पैशा हेर्दै
घरी छोराको विरामी अनुहार सम्झन्छ
अनि घरी आफ्नो नाङ्गो आङ्ग नियाल्छ
त्यो गरिव भरिया मनै अमिलो पारेर

आवश्यकताहरु धेरै तर थोरै कमाइ
अनि मरेर बाँच्नु पर्ने कठोर भरियाको काम
कहिले काहीँ उसलाई लाग्छ
यो जिवनलाई नै समाप्त पारीदिउँ  
तर उसको तेत्रो सौभाग्य कहाँ
आफ्नै जीवन माथि पनि उसको अधिकार छैन  
परिवारका निम्ति बाँचेको
आफ्ना लागि होइन
लाटो अन्धो अनि बहिरो झैं टोल्हाइरहेछ
त्यो गरिव भरिया शुन्य भविश्य देखेर ।३।

बाल्यकालका यादहरु तरल गराउँदै सम्झन्छ  
ठूलो भए पछि के के गरौंला भन्ने थियो
निष्ठूरी भाग्यले भरिया पो बनाइ दियो
संगैका साथीहरु कोही डाक्टर बने
कोही जिवनको सुखीयाल भोगाइमा छन्  
समकालीन दौंतरीहरुको प्रगती सम्झँदै  
आँखा चिस्याउँदै मनमनै चिच्याउँछ  
त्यो गरिव भरिया नियतीको खेल देखेर

जे होस् जसो होस् सुख होस् दुःख होस्
सकी नसकी जीवन धान्नु परेकै
गर्जो टार्नका लागि काम खोज्न
गल्ली गल्ली धाउनु परेकै
पेट भोको होस् की स्वास्थ्य बिमार होस्
आङ नाङ्गो होस् की मौसम खराब होस्
थाप्लो रन्काउनु परेकै
साहुको पाउ मिच्दै काम दयाको भिख मागिरहेछ
त्यो गरिव भरिया आफुलाई दाष नै ठानेर




No comments:

Post a Comment