Sunday, 8 March 2015

फुल र मौरी

                           लालीगुरांश
फुलबारीमा हराभरा
फुल ढकमक
फुलको रंग र वास्नासंग
मौरी परे दंग।


फुल वरिपरी भुनुनुनु
मौरी डुल्न थाले
फुल फुल चहारेर
रस चुस्न थाले।


फुलको गुलियो रस चुसी
मदमत्त भई
उड्न थाले ढलपल गरी
यता उता नहेरी।


राता सेता पहेंला
अनि निला रंगमा सजेका
झपक्क भई फुल
फुलबारीमा लहलह झुलेका।


कति राम्रो फुलबारी
प्रकृतिको घर
फुलबारीमा पुगे पछि
रमाऊँछ सबको मन।

नजाती खबर

                                              लालीगुरांश (सिर्जना भण्डारी)
जीवनकै रमाइलो र उल्लासमय माहोलमा
तिमीले सिउँदोमा सिंदुर भरिदिँदा
पोल्टामा नअट्ने खुशी पाएको अनुभुति गरेकी थिएँ
समयले एक कोल्टो फेरेपछि
प्रकृतिको वरदान, आमा बन्ने अवसर पाउँदा
आफूलाई धर्ती नै ठानेकी थिएँ
समयले अर्को कोल्टो फेर्दा
बैगुनी बतासले खबर सुनायो
तिमी रहेनौ, शहिद भयौ रे
खबर सुन्दा त लाग्यो,
आफू पनि त्यही बाटो जाउँ
तर सम्झेँ, तिमी मेरो प्राण भए पनि
त्यस अघि यस धर्तीको छोरो हौ
मेरो भन्दा कता हो कता बढी
यस धर्तीको अधिकार छ तिमी माथि
त्यसैले यस्तो नजाती खबर सुन्दा पनि
म रोइन, बरु तिम्रो जीवनले नै
अर्थ पाएको जस्तो लाग्यो
सत्य प्रिय, म कत्ति पनि सुर्ताइन
तिमो मृत्युको खबरले
मलाई लाग्यो यो मृत्यु
तिम्रो मुक्ति र पुनरजन्म हो
तिमी त भाग्यमानी रहेछौ
एक चोलाबाट निर्वाण पायौ
अर्को चोला म भित्रै सलबलाइरहेछौ।
अर्को चोला म भित्रै सलबलाइरहेछौ।।

प्रकृति बचाउँ

                                               लालीगुरांश   
नमास है सिमसार धेरै जन्तुको घर हो त्यो
नसुकाउ है ताल–तलाउ सबैका जीवनको भर हो त्यो
नमास है बनजंगल अवोध प्राणीहरूको वासस्थस हो त्यो
नमार है जीवजन्तु प्रकृतिको नियम विपरीत हो त्यो ।

रित्तिए प्रकृति लोप हुनेछन् अमुल्य हाम्रा बनस्पति
पाइने छैन पछि फेरी जतिनै मरीमेटे पनि
भासिए जंगल सुक्नेछन् मानीका मूलहरू
विकेकी मानवजाती भइकन नगरौं यस्ता भूलहरू ।

मैलिइ पानीका श्रोतहरू खतरा हुन्छ है सबलाई
जान्ने सबै छन् तर गर्छन गल्ती दोष दिनु यो कसालाई
सुके पानीका मूलहरू टुट्छ है सबैको जीवनधरा
पानी विनाको जीवन जीउनु हो कहाली लाग्दो वसहरा ।

नभासौं सिनसार कसैले पनि संरक्षण गरौं तिनको
सोचौं भविश्य हेरौं आउने पुस्ता नहेरौ स्वार्थ एकहिनको
नभासौं वनजंगल सैरक्षण गरौं वृक्षारोपणले भरी
फैलाउँ चेतना सबै माझ नमुना बन्ने राम्रो काम गरी ।

नफालौं फोहोर जताततै सभ्य बनौं बरु ब्यवस्थापन गरी
गरेर देखाउँ अनि सिकाउँ सबलाई फोहोरबाट माृहर बन्छ भनी
नरील्याउँ दुर्लभ जडीबुटी ति हुन् अमुल्य सम्पती
श्रोत रहे के चिन्ता र गर्न सकिन्छ आँटेजती ।

प्रकृति क्रिडा

                                    लालीगुरांश   
कलकल गर्दै झरना बग्छन् चट्टान फोरेर
मिल्छन् सागरमा फेरी नामेट डाम छोडेर ।

काला बादल अकाशमा मोतिका फूल झार्दैछन्
रिसाउँदै वतासले बाली बृक्ष पछार्दैछन् ।

घाम पानी पर्दा पर्दै झुल्कीयो पर इन्द्रेणी
बादलमा लुक्दै घाम, खेल्न थाल्यो लुकामारी

कोइलीको मिठो बोली कुहुकुहु गुन्जीयो गीत
पुच्छर हल्लाइ नाच्दा यो, रमायौं हेरी त्यो नाच ।








Saturday, 7 March 2015

आमा तिमी...

      लालीगुरांश

आमा तिमी धर्ती हौ भने
मेरा तर्कहरुलाई नियालेर हेर
मलाइ साच्चै दोषी पायौ भने
तिमी जे चाहान्छौ त्यही गर

आमा तिमी देवी हौ भने
मेरो निर्दोष चित्कार सुनेर हेर
मेरोे चित्कारमा खोट पायौ भने
तिम्रै हातले मेरो हत्या गर

आमा तिमी ममताकी खानी हौ भने
मेरो मुटुको धड्कन सुनेर हेर
त्यहाँ आमा पुकार सुनिनौ भने
बरु मलाई बहिस्कार नै गर

मा तिमी न्यायकी मुर्ति हौ भने
सन्तानको कर्मको विश्लेषण गर
तिम्रा दैवीय आँखाले खोट देख्यो भने
गल्ती अनुसारको सजाय घोषणा गर ।

आमाको न्याय

       लालीगुरांश

आमा, तिमीलाई
देवी जस्तै उच्च ठानी
शिरमाथि राखेको थें मैले
निर्दयी भई घात गर्यौ
धोका तिमीले दियौ अहिले ।

अनेक पूजा पुकार गरी
दैवसंग माग्यौ मलाई पहिले
तर मेरो जन्म अभिसाप भो
तिमीलाई अहिले
के पाप गरें र मैले ।

तिम्रै सन्तान हुनु रहेछ
गर्भमा लियौ आमा तिमीले
जन्मायौ तर आफू जिउदो छंदै
मलाई टुहुरी पारीदियौ अहीले ।

गल्ती मेरो केही थिएन आमा
सत्य कहील्यै जान्नै मानिनौ
मेरो अन्तर मनको निर्दोष पुकार
तिमीले कहील्यै बुझ्नै चाहीनौ ।

गलतलाई सर्बथा सही मान्यौ
निर्दोषीलाई सजाए सुनायौ
कुन सत्य कुन झुठ जो भनी
तिमीले कहील्यै परखनै चाहीनौ ।

मुटु मेरो दुखाइ दियौ
निर्दयी भइ भाला रोप्यौ
छोरा मात्र तिम्रा रहेछन
छोरीको त साथै छाड्यौ ।

लौ त,
नजिक भइ टाढा हुनु भन्दा
टाढा टाढै बसी नजिक बनौं
आफ्नो आफ्नो जिवनलाई
आफैंले नै सफल पारौं ।

तिमी...

                              लालीगुरांश

तिमी खोला बनेर बगी आउनु है
म सागर बनेर पर्खी बस्नेछु ।
तिमी फूल बनेर मगमगाउनु है
म हावा बनेर वासना छर्नेछु ।

तिमी मुटु बनेर ढुकढुक गर्नु है
म आत्मा बनेर सास फेर्नेछु ।
तिमी मस्तीस्क बनेर चिन्तन गर्नु है
म विचार बनेर खुशी छर्नेछु ।

तिमी प्रित बनेर मायाँ लाउनु है
म जीवन बनेर समर्पित हुनेछु ।
तिमी संगीत बनेर गुन्जीरहनु है
म शुर बनेर तिमी मै रंगीनेछु ।



Tuesday, 3 March 2015

बुढेस काल

                                      लालीगुरांश
चुँडीएको चङ्गा झैं गन्तब्य बिहीन पाइलाहरु
घस्रदै, लखर लखर अघि बढ्दा छन्
तर जीन्दगी पछि हट्दो छ
कहाँ पुगेर टुङ्गीने हो यो यात्रा
पहिल्याउनै मुस्कील छ ।

हिजोसम्म स्वर्ग झैं लाग्ने यो जीवन
आजभोलि दिन दिन बोझ बन्दो छ
गरौं के गरौं जाऊँ कहाँ जाऊँ
उमेर छँदाका इच्छा चाहना जाँगर सबै मरीसके
सपनामा फुलाएका फूल सबै ओइलाएर झरीसके ।

भन्छन् बृद्ध-बृद्धा परिवार र समाजका बोझ हुन् रे
राष्ट्रिय बिकासका लागि अनुत्पादक भए रे
त्यसैले, बगेको पानीले मास्तीरको बाटो बिर्से झैं
नयाँ पुस्ताले पनि पुरानो पुस्तालाई बिर्सन थाल्यो
यो उराठ लाग्दो जीवन अब त आफैंलाई बोझ हुन थाल्यो ।

समय बलवान छ यसले कसैलाई पर्खदैन
बाटो एउटै हो सबैको पालो एक दिन आउँछ
अरुलाई परेको कसले जान्दछ र
आफुलाई परेपछि पो चाल पाउँछ
प्रकृतिको नियम न हो कसले यसलाई मेटाउँछ ?

त्यसपछि सबैको उही त हो, गन्तब्य बिहीन बाटो
गन्तब्य बिहीन पाइला, गन्तब्य बिहीन जीन्दगी
यमराजको प्रतिक्षा अनि जीवनको अन्तिम यात्रा ।

Sunday, 1 March 2015

आमा भन्छिन्...

                       लालीगुरांश
मलाई मायाँ देऊ तिमी
संसारलाई मायाँमय बनाईदिन्छु ।

मलाई सम्मान देऊ तिमी
संसारलाई स्वर्गमय बनाईदिन्छु ।

मलाई सहयोग देऊ तिमी
संसारलाई सहज बनाईदिन्छु ।

मलाई तिरस्कार नदेऊ तिमी
संसारमा विनास ल्याईदिन्छु ।

मलाई अपमान नदेऊ तिमी
संसारमा प्रलय ल्याईदिन्छु ।

मेरो ताकतलाई नतौल तिमी
संसारलाई भस्म गरीदिन सक्छु ।

गरिव भरिया

                               लालीगुरांश (सिर्जना भण्डारी)

आगै वल्ला जस्तो रापिलो घाम अनि  
टोपी नै खस्ला जस्तो ठाडो उकालोमा  
खुई खुई गर्दै घरी पसिना पुछ्दै
ढाडमा आफु भन्दा बोझिलो भारी बोकेर
सकी नसकी बाटो नापिरहेछ
त्यो गरिव भरिया धन कमाउने सपना साँचेर


काम फत्ते गरेको कमाइ उसको हातमा
किनमेल गर्न हत्तपत्त हाट दगुर्छ
हाट पुग्नु अघि उसका मानसपटलमा
घरका समस्याहरु तछाड मछाड गर्छन्
मुठ्ठीको पैशा हेर्दै
घरी छोराको विरामी अनुहार सम्झन्छ
अनि घरी आफ्नो नाङ्गो आङ्ग नियाल्छ
त्यो गरिव भरिया मनै अमिलो पारेर

आवश्यकताहरु धेरै तर थोरै कमाइ
अनि मरेर बाँच्नु पर्ने कठोर भरियाको काम
कहिले काहीँ उसलाई लाग्छ
यो जिवनलाई नै समाप्त पारीदिउँ  
तर उसको तेत्रो सौभाग्य कहाँ
आफ्नै जीवन माथि पनि उसको अधिकार छैन  
परिवारका निम्ति बाँचेको
आफ्ना लागि होइन
लाटो अन्धो अनि बहिरो झैं टोल्हाइरहेछ
त्यो गरिव भरिया शुन्य भविश्य देखेर ।३।

बाल्यकालका यादहरु तरल गराउँदै सम्झन्छ  
ठूलो भए पछि के के गरौंला भन्ने थियो
निष्ठूरी भाग्यले भरिया पो बनाइ दियो
संगैका साथीहरु कोही डाक्टर बने
कोही जिवनको सुखीयाल भोगाइमा छन्  
समकालीन दौंतरीहरुको प्रगती सम्झँदै  
आँखा चिस्याउँदै मनमनै चिच्याउँछ  
त्यो गरिव भरिया नियतीको खेल देखेर

जे होस् जसो होस् सुख होस् दुःख होस्
सकी नसकी जीवन धान्नु परेकै
गर्जो टार्नका लागि काम खोज्न
गल्ली गल्ली धाउनु परेकै
पेट भोको होस् की स्वास्थ्य बिमार होस्
आङ नाङ्गो होस् की मौसम खराब होस्
थाप्लो रन्काउनु परेकै
साहुको पाउ मिच्दै काम दयाको भिख मागिरहेछ
त्यो गरिव भरिया आफुलाई दाष नै ठानेर




Friday, 13 February 2015

मलाई प्यारो लाग्छ

                                               लालीगुरांश   
विकसित बिदेशी भूमिका चिल्ला सडकमा हिंड्दा
तन रमाए पनि मन रमाउन गाह्रो मान्छ
बुंग बुंग धुलो उडेर कुहिरै लागे पनि
मलाई आफ्नै मातृभुमिको धूलो नै प्यारो लाग्छ ।

चिल्ला अनि आरामदाई मोटरमा हिंड्दा
तनले सुख माने ता पनि मनले दुःख मान्छ
खाल्डा खुल्डीमा हल्लाएर जिउनै थकाए पनि
मलाई गाउँले गोरु गाडानै प्यारो लाग्छ ।

चैबीसै घण्टा एसी जडान गरिएका कोठामा बस्दा
तनले शितल माने पनि मनले गर्मी मान्छ
टन्टलापुर घाम र पातै नहल्लीने गर्मी भए पनि
मलाई तरर चुहिएका पसिनै प्यारो लाग्छ ।

सर्बत्र इन्जिनको प्रयोग गरी हलुका काम मात्र गर्दा
हातले आराम माने पनि मनमा सकसक लाग्छ
परिश्रम गरि जीउ नै थाक्ने काम गर्नु परे पनि
मलाई कोदालोले उठाएका ठेलानै प्यारो लाग्छ ।

परिश्रम गरि जीउ नै थाक्ने काम गर्नु परे पनि
मलाई कोदालोले उठाएका ठेलानै प्यारो लाग्छ ।


Friday, 6 February 2015

प्रकृति र म

                                लालीगुरांश
हावाको लहर सँगै
झुलेका ति लहरा अनि पातहरुले
मलाई नै डाके जस्तो लाग्छ
गमक्क फुलेका बेली, चम्पा, चमेली
अनि जाई, सुनखरी देख्दा
प्रकृति नै स्वर्ग झै लाग्छ
अझ त्यस माथि तिनले हावामा
बास्ना छरिदिदा झन
संसारै मगमगाए जस्तो लाग्छ
प्रकृतिलाई अझ नियाल्दा
मलाई यस्तो लाग्छ कि
म पनि फुल हुन पाए हन्थ्यो
हावा, पानी, शित अनि
खुल्ला आकास मुनि रमाउन पाए हुन्थ्यो।

हुनत बोटबिरुवाको जिवन छोटो हुन्छ
भन्छन, त्यस्तो जिवन के जिवन!
तर मलाई लाग्छ
जिवन छोटो भएर के भयो त
हाम्रा आँखाले नदेख्ने प्राणी देखि
ठुलठुला भिमकाय प्राणीहरुलाई
आफ्नो बसमा पारेकै छन्,
संसार हराभरा पारेकै छन्,
सबैलाई पालेकै छन्
अनि आफु मरेर अरुलाई बचाएकै छन्
र उचित मुल्यांकन पाएर
सबैका लागि अपरिहार्य बनेकै छन्
जो हामी लामो जिवन पाउने
प्राणी चोलाले गर्न सकेका र भ्याएका छैनौं।

हो, त्यसो भए के छोटो जिवन अनि
के लामो जिवन!
त्यसैले त मलाई पनि
फुलबिरुवा बन्न मन लाग्छ
फुलवारीमै डुब्न मन लाग्छ
फुलवारीमै हराउन मन लाग्छ।

Saturday, 31 January 2015

च्यात्तिएको यो मन

                                        लालीगुरांश    
मोजमस्ती मै डुबेछु म थाहा थिएन कहाँ छु
ईच्छा रहर मरीसके अहिले जीउँदो लास भाछु
खोटो रहेछ भाग्य मेरो पाउनु दुःख पाछु
पटक पटक जीवनमा मैले धेरै धोका खाछु ।

किन होला अब मलाई आफ्नै बिश्वास छैन
साधन मात्र भएँ जहिल्यै इज्ज्यत कहिल्यै पाइन
सबै आउँछन् मिठो बोल्छन् सपना मात्र बाँड्छन्
वास्तविकता जाने पछि मिलौं दुर भाग्छन् ।

जीवन भोग्न जानीनछु अल्लारे थियो बेला
जीवन साथी साट्दा साट्दै पुगेछु देहब्यापारको मेला
धेरै पछि चाल पाएँ त्यो त जीउँदो नर्क रहेछ
सयौं प्रयास गरें सुध्रिन तर धेरै ढिलो भएछ ।

संगतको फलले मलाई पिर्नु सम्म पिर्यो
आफ्नो मात्र कहाँ होर परिवारकै साख गिर्यो
कसरी धानौं बाँकी जीवन जीउने रहरै छैन
समाजले नि पिर्छ मात्रै आधार कहीं पाईन ।

लक्ष्य योजना केही छैन झरेको पात भो जीवन
बोझ लाग्न थाल्यो झन् झन् मरीसक्यो यो मन
ब्यापार पनि चल्न छाड्यो खस्क्यो क्यारे जोवन
कति टालौं कति गाँसौं च्यात्तिएको यो मन ।









Friday, 16 January 2015

उनीलाई आग्रह

                                                लालीगुरांश
सम्झिएर मलाई प्रिय, आँशु कहिल्यै नझार्नु  है
साथ टाढा भए पनि मायाँ कहिल्यै नमार्नु है
मायाँ धेरै लाग्यो भने मन भित्रै राखीदिनु
याद धेरै आयो भने मुटुभित्रै बाँधीदिनु । १ ।

दाहिने आँखो फरफराए धेरै चिन्ता नगर्नु है २
नाजुक मेरो हाल यो कसैलाई नभन्नु है
अतितले धेरै सताए मनको वाँधमा थुनीदिनु
अशुभ खबर आयो भने हिम्मत राखी सुनीदिनु । २ ।

साथ मेरो छुटे पनि जिन्दगीलाई नरोक्नु है २
दुःख तिमीले पायौ भने दोषि मलाई नठान्नु है
जिवनमा खुशी छाए खिलखिलाइ हाँसीदिनु
निरासाले बाटो छेके आँशु बनाइ बगाइदिनु । ३ ।

कालै मलाई आए पनि सिन्दुर कहिल्यै नपुच्छ्नु है २
विद्ववा आपुूलाई नठानी रातै वस्त्र लगाउनु है
मन मिल्ने साथी पाए लगन गाँठो कसीदिनु
उसको मायाँ शिरमा राखी मेरो माया कुल्चीदिनु । ४ ।

जिवनका भोगाइहरुमा कहिल्यै तिमी नथाक्नु है २
पल पलका खुशीहरुलाई पुूल सम्झी सजाउनु है
सपनामा म आएँ भने खराब सपना मानीदिनु
मेरो याद ताजै भए नासो मात्र ठानीदिनु । ५ ।

सम्झिएर मलाई पि्रए आँशु कहिल्यै नझार्नु है
साथ टाढा भए पनि मायाँ कहिल्यै नमार्नु है । २