Sunday, 18 August 2024

पलपल प्रभुको स्मरण

                   लालीगुरांश  (सिर्जना भण्डारी) 


पलपल तिम्रो छवि स्मरणमा, अनन्त शान्ति छाएको छ प्रभु
पलपल तिम्रो नाम स्मरणमा, अनन्त कान्ति झल्केको छ प्रभु ।

यो हृदयभरि वास छ तिम्रो, तिमीलाई सदा सेवा प्रदान गरिरहन सकौं
यी आँखाभरि तस्वीर छ तिम्रो, यिनलाई समेटी सदा तिमीमै रमिरहन सकौं
मनभरि तिमीनै तिमी छौ, मेरो मनको मालिकलाई सदा रिझाइरहन सकौं ।

पलपल तिम्रो छवि स्मरणमा, अनन्त शान्ति छाएको छ प्रभु
पलपल तिम्रो नाम स्मरणमा, अनन्त कान्ति झल्केको छ प्रभु ।

वसन्त ऋतुभरि फूलेका छौ तिमी, सुन्दर पुष्पहरु तिम्रो चरणमा समर्पण
मधुमास मौसमभरि झुलेका छौ तिमी, अमृत फलहरु तिम्रो भोगमा समर्पण
मेरो जीवनभरि रंगीएका छौ तिमी, मेरो जीवनको रंग तिमीमा समर्पण ।

पलपल तिम्रो छवि स्मरणमा, अनन्त शान्ति छाएको छ प्रभु
पलपल तिम्रो नाम स्मरणमा, अनन्त कान्ति झल्केको छ प्रभु ।

मेरा दृश्यभरि तिम्रै सौन्दर्यहरू रम्छन्, तिम्रो रुपको वर्णन म गरिरहुँ
मेरा श्रवणभरि तिम्रै वाणीहरु गुञ्जन्छन्, तिम्रो मिठो मधूरता म सुनिरहुँ
मेरा चाहनाभरि तिम्रै स्पर्सहरुले छुन्छन्, तिम्रो शितल सामिप्यता म पाइरहुँ ।

पलपल तिम्रो छवि स्मरणमा, अनन्त शान्ति छाएको छ प्रभु
पलपल तिम्रो नाम स्मरणमा, अनन्त कान्ति झल्केको छ प्रभु ।


No comments:

Post a Comment