Monday, 6 May 2024

आध्यात्मिक उडान भर्नुछ!

हरिगुरु कविता                                  

              लालीगुरांश  (सिर्जना भण्डारी) 


ब्रह्मज्ञानी सद्गुरुको ज्ञान संधै नै महान
कोमल हृदयमा भरी, पूर्ण मानव बन्नुछ
आफैंभित्रका उर्जाका श्रोत चक्रहरुको जागरण गरेर
आफ्नै प्रतिभाको क्षमतामा, आध्यात्मिक उडान भर्नुछ

मृदुभाषी सद्गुरुको वाणि अति नै मधूर
कोमल मनमा साँची, सबैलाई माधूर्य बाँड्नुछ
फलेको बृक्षको शाखासरी विनम्र भावमा झुकेर
आफूभित्रका अष्टलक्ष्मी जगाई, आध्यात्मिक उडान भर्नुछ

सतचितआनन्द सद्गुरुको मुस्कान अति नै मिठो
प्रेमपूर्ण भावनामा भरी, प्रेमको संचार गर्नुछ
आफैंभित्रको वोध आत्मगुफामा लयवद्ध भएर
आत्मवोधमा स्थित भई, आध्यिात्मिक उडान भर्नुछ

सदाचारी सद्गुरुको आचरण अति नै पवित्र
आफूमा प्रतिविम्वित गरी, सबैकालागि सहयोगी बन्नुछ
आफैंभित्र आफूलाई खोजी सत्यको मार्ग पहिल्याएर
सत्यमा निष्ठ भई, आध्यात्मिक उडान भर्नुछ

परोपकारी सतगुरुको सेवा अति नै उत्तम
आफ्नो चेतनामा भरी, सबैलाई सेवा पुर्याउनुछ
सबैमा आफू, आफूमा सबै आत्मसाथ गरेर
निश्वार्थ सेवाभावले भरिई, आध्यात्मिक उडान भर्नुछ

सबैमा आफू, आफूमा सबै आत्मसाथ गरेर
निश्वार्थ सेवाभावले भरिई आध्यात्मिक उडान भर्नुछ ।।

  

No comments:

Post a Comment