हरिगुरु भजन
लालीगुरांश (सिर्जना भण्डारी)
प्रभु!
तिमी भानु भई झुल्कियौ हिमालका शिखरहरुमा
अलौकिक किरण फैलायौ अध्यात्मको सबै हृदयहरुमा
म तिमीमै झुल्किरहनेछु, तिमीमै फैलिरहनेछु सदा।
प्रभु!
तिमी जुन भइ उदायौ विशाल आकाशमा
चम्किलो प्रकाश छर्यौ धर्मको सबै चेतनाहरुमा
म तिमीमै उदाइरहनेछु, तिमीमै चम्किरहेछु सदा।
प्रभु!
तिमी सागर भइ बग्यौ तराइका फाँटहरुमा
भ्रमित विशाद पखाल्यौ तनावग्रस्त सबै मनहरुमा
म तिमीमै बगिरहेनेछु, तिमीमै मिलिरहनेछु सदा।
प्रभु!
तिमी वर्षा भइ वर्षियौ पहाडका अधरहरुमा
असिम खुशी रसायौ आनन्दको सबै चित्तहरुमा
म तिमीमै वर्षिरहनेछु, तिमीमै रसाइरहनेछु सदा।
प्रभु!
तिमी सुनखरी भइ फूल्यौ भीरपाखा पखेरुहरुमा
दिव्य सुवास छर्यौ दिव्यताको सबै भावहरुमा
म तिमीमै मगमगाइरहनेछु, तिमीमै फूलिरहनेछु सदा।
प्रभु!
तिमी पवन भइ बह्यौ अंगका स्पर्शहरुमा
शितल श्वास भर्यौ प्राणको सबै जीवनहरुमा
म तिमीमै वहिरहनेछु, तिमीमै बिलाइरहनेछु सदा।
प्रभु!
तिमी स्पन्दन भइ चल्यौ भक्तका मुटुहरुमा
पराभक्तिको प्यास जगायौ परमशक्तिको सबै भक्तहरुमा
म तिमीमै धड्कीरहनेछु, तिमीमै जागिरहनेछु सदा।
प्रभु!
तिमी स्मृति भइ छायौ साधकको सम्झनाहरुमा
मिठो याद बन्यौ सत्संगको सबै मस्तिष्कहरुमा
म तिमीमै छाइरहनेछु, तिमीमै हराइरहनेछु सदा।
प्रभु!
तिमी प्रेम भइ समायौ सम्वन्धका जोडहरुमा
गहिरो अनुभूति जगायौ चाहतको सबै मोडहरुमा
म तिमीमै गहिरिरहनेछु, तिमीमै पुल्पुल्लिरहनेछु सदा।
No comments:
Post a Comment