Wednesday, 7 February 2024

प्रभु! तिमीनै मोक्षको द्वार

  रिगुरु भजन           

                 लालीगुरांश  (सिर्जना भण्डारी) 


कति चाहान्छु तिमीलाई प्रभु
नाप्ने कुनै मापन छैन
कति सम्झिन्छु तिमीलाई प्रभु
चिरेर देखाउन अवतार होइन
देखिरहुँ लाग्छ तिमीलाई प्रभु
नजरमा दिव्य दृष्टि छैन
सुनिरहुँ लाग्छ तिमीलाई प्रभु
कानको क्षमता तिमीसम्म पुग्दैन
भजिरहनेछु तिमीलाई प्रभु जन्मजन्म
तिम्रो समिप आउन नसकेपनि
सजाइरहनेछु हृदयमा प्रभु मृत्युपर्यन्त
यमराजनै आई अकालमै छुटाएपनि
तिमीनै आत्यन्तिक सत्य प्रभु
छुट्ने छैनौं प्रलयनै आएपनि
तिमीनै मोक्षको द्वार प्रभु
तिमीलेनै लगाउनेछौ असत्यबाट पार
तिमीनै पूजा, भक्ति प्रभु
तिमीनै सकल ब्रह्माण्डको सार
तिम्रो कृपा वर्षिरहेछ अपार
पाएकोछु अनन्दनगरको बेग्लै संसार 
कति चाहान्छु तिमीलाई प्रभु
नाप्ने कुनै मापन छैन
कति सम्झिन्छु तिमीलाई प्रभु
चिरेर देखाउन अवतार होइन


Friday, 2 February 2024

प्रभु! म तिमीमै फैलिरहनेछु सदा

 रिगुरु भजन           

                 लालीगुरांश  (सिर्जना भण्डारी) 

प्रभु!
तिमी भानु भई झुल्कियौ हिमालका शिखरहरुमा
अलौकिक किरण फैलायौ अध्यात्मको सबै हृदयहरुमा
म तिमीमै झुल्किरहनेछु, तिमीमै फैलिरहनेछु सदा।

प्रभु!
तिमी जुन भइ उदायौ विशाल आकाशमा
चम्किलो प्रकाश छर्यौ धर्मको सबै चेतनाहरुमा
म तिमीमै उदाइरहनेछु, तिमीमै चम्किरहेछु सदा।

प्रभु!
तिमी सागर भइ बग्यौ तराइका फाँटहरुमा
भ्रमित विशाद पखाल्यौ तनावग्रस्त सबै मनहरुमा
म तिमीमै बगिरहेनेछु, तिमीमै मिलिरहनेछु सदा।

प्रभु!
तिमी वर्षा भइ वर्षियौ पहाडका अधरहरुमा
असिम खुशी रसायौ आनन्दको सबै चित्तहरुमा
म तिमीमै वर्षिरहनेछु, तिमीमै रसाइरहनेछु सदा।

प्रभु!
तिमी सुनखरी भइ फूल्यौ भीरपाखा पखेरुहरुमा
दिव्य सुवास छर्यौ दिव्यताको सबै भावहरुमा
म तिमीमै मगमगाइरहनेछु, तिमीमै फूलिरहनेछु सदा।

प्रभु!
तिमी पवन भइ बह्यौ अंगका स्पर्शहरुमा
शितल श्वास भर्यौ प्राणको सबै जीवनहरुमा
म तिमीमै वहिरहनेछु, तिमीमै बिलाइरहनेछु सदा।

प्रभु!
तिमी स्पन्दन भइ चल्यौ भक्तका मुटुहरुमा
पराभक्तिको प्यास जगायौ परमशक्तिको सबै भक्तहरुमा
म तिमीमै धड्कीरहनेछु, तिमीमै जागिरहनेछु सदा।

प्रभु!
तिमी स्मृति भइ छायौ साधकको सम्झनाहरुमा
मिठो याद बन्यौ सत्संगको सबै मस्तिष्कहरुमा
म तिमीमै छाइरहनेछु, तिमीमै हराइरहनेछु सदा।

प्रभु!
तिमी प्रेम भइ समायौ सम्वन्धका जोडहरुमा
गहिरो अनुभूति जगायौ चाहतको सबै मोडहरुमा
म तिमीमै गहिरिरहनेछु, तिमीमै पुल्पुल्लिरहनेछु सदा।