लालीगुरांश (सिर्जना भण्डारी)
जीवन र जगत दुवैलाई गहिरिएर जान्नु पूर्ण जीवन रहेछ
परब्रम्हको ज्ञान र आत्माको साक्षातकार जन्मको सार रहेछ
तर आजको मानव केवल जगतलाई सर्बोपरि मानिरहेछ
भौतिकबादको भवसागरमा आफू र जीवनलाई खोजिरहेछ
जीवनलाई बिर्सेर जगतमा ऊ अधूरो र उधारो जीवन जीरहेछ ।
आजको मानव धन प्राप्ति र सम्मान प्राप्तिको पछाडि दौडिरहेछ
धन आर्जन र बस्तु आर्जनलाई आफ्नो सर्वोपरि कर्तव्य मानिरहेछ
सुखका लागि आफूलाई रित्याएर त्यसैलाई परम-आनन्द ठानिरहेछ
जीवनलाई बिर्सेर जगतमा ऊ अधूरो र उधारो जीवन जीरहेछ ।
आजको मानव दया र प्रेम केवल आफ्नालागि मात्र मागीरहेछ
नाता सम्वन्ध उसकालागि आवश्यकताको परिपूर्ति बनीरहेछ
आफूलाई आधुनिकतामा डुबाएर आफैं आफ्नो शत्रु बनिरहेछ
जीवनलाई बिर्सेर जगतमा ऊ अधूरो र उधारो जीवन जीरहेछ ।
आजको मानव सनातन धर्म बिर्सिएर नक्कली धर्म अंगालीरहेछ
अध्यात्मको के हो पूरा नबुझीकन ढोंग र आडम्बर देखाइरहेछ 
संस्कार सबै अर्काको अंगालेर झूठो र मिथ्या संसारमा रमाइरहेछ
जीवनलाई बिर्सेर जगतमा ऊ अधूरो र उधारो जीवन जीरहेछ । -2
No comments:
Post a Comment