लालीगुरांश (सिर्जना भण्डारी)
वर्षौ देखि परिवार अनि समाजमा
मैले पाएको पदवी 'गृहिणी'
मेरो पदवीमा कहील्यै बढुवा भएन
भयो त सीर्फ जिम्मेदारीमा बढुवा
एकोहोरो गृहिणीको मात्र नभई
दोहोरो, तेहोरो जिम्मेदारी बढ्यो
घर भित्र गृहिणीका रुपमा
श्रीमती, बुहारी, भाउजू अनि आमा
घर वाहिर श्रमजीवीका रुपमा
कर्मचारी, सेविका, कामदार अनि श्रमीक ।
विद्या आर्जन गर्ने समयमा
डोली चढाइ जिम्मेदारी बढाइयो
खोइ कहाँ खोजुं म, मेरो ज्ञानको विम्व ?
क्षमता वृद्धि गर्ने समयमा
घर गरी खान बाध्य पारीयो
खोइ कहाँ खोजुं म, मेरो कार्य-कुशलताको विम्व ?
घरेलु श्रम प्रधान कामहरुलाई
अनुत्पादक ठानी अवमूल्यन गरीयो
खोइ कहाँ खोजुं म, मेरो आर्थिक सम्पन्नताको विम्व ?
समाज सेवा तथा सुधारका कामलाई
महिलाको नभई सदा पुरुष मात्रको क्षेत्र ठानीयो
खोइ कहाँ खोजुं म, मेरो सामाजिक सम्मानको विम्व ?
समकालीन पुरुष मित्रहरु आज
राजनीतिक, आर्थिक, सामाजिक र कला-संस्कृतीका क्षेत्रमा
ठूला-ठूला सम्मानजनक विम्वहरुले आभुषित छन्
खोइ कस-कसमा
अनि कहाँ-कहाँ खोजुं म, मेरा हराएका विम्व ? -2
अनि कहाँ-कहाँ खोजुं म, मेरा हराएका विम्व ? -2
No comments:
Post a Comment