Friday, 8 March 2019

खोइ कहाँ खोजुं म, मेरा हराएका विम्व

                                

                           लालीगुरांश  (सिर्जना भण्डारी)

वर्षौ देखि परिवार अनि समाजमा
मैले पाएको पदवी 'गृहिणी'
मेरो पदवीमा कहील्यै बढुवा भएन
भयो त सीर्फ जिम्मेदारीमा बढुवा
एकोहोरो गृहिणीको मात्र नभई
दोहोरो, तेहोरो जिम्मेदारी बढ्यो
घर भित्र गृहिणीका रुपमा
श्रीमती, बुहारी, भाउजू अनि आमा
घर वाहिर श्रमजीवीका रुपमा
कर्मचारी, सेविका, कामदार अनि श्रमीक ।

किनकी
विद्या आर्जन गर्ने समयमा
डोली चढाइ जिम्मेदारी बढाइयो
खोइ कहाँ खोजुं म, मेरो ज्ञानको विम्व ?

क्षमता वृद्धि गर्ने समयमा
घर गरी खान बाध्य पारीयो
खोइ कहाँ खोजुं म, मेरो कार्य-कुशलताको विम्व ?

घरेलु श्रम प्रधान कामहरुलाई
अनुत्पादक ठानी अवमूल्यन गरीयो
खोइ कहाँ खोजुं म, मेरो आर्थिक सम्पन्नताको विम्व ?

समाज सेवा तथा सुधारका कामलाई
महिलाको नभई सदा पुरुष मात्रको क्षेत्र ठानीयो
खोइ कहाँ खोजुं म, मेरो सामाजिक सम्मानको विम्व ?

समकालीन पुरुष मित्रहरु आज
राजनीतिक, आर्थिक, सामाजिक र कला-संस्कृतीका क्षेत्रमा
ठूला-ठूला सम्मानजनक विम्वहरुले आभुषित छन्
खोइ कस-कसमा 
अनि कहाँ-कहाँ खोजुं म, मेरा हराएका विम्व ? -2

   

मन, मष्तिस्क र म

                         
                       लालीगुरांश  (सिर्जना भण्डारी)

म २१औं शताव्दीकी नारी
मेरो मन अनि मष्तिस्क
एक आपसमा जुधीरहन्छन्
मन भन्छ, तँ स्वतन्त्र पंक्षी हो
माथि माथि उड्न सक्छेस
मष्तिस्क भन्छ, 
तँ समाजको कमजोर कडी हो 
तेरा पखेटा काटीएका छन् ।

अव, कुनको कुरा सुनौं र मानांै
मलाई मनको विचार सही लाग्छ
तर त्यसलाई पछ्याउन सक्दीन
धेरै चुनौती र बाध्यताहरु छन्
मष्तिस्कले मेरो वास्तविकता भन्छ
तर त्यसलाई पचाउन सक्दीन
धेरै विभेद र उत्पीडनहरु छन् ।

उफ यो दोधार !! 
बरु म मेरै सुन्छु...
म एक स्वतन्त्र र गतिसिल नारी हुँ
मेरो समान अस्तीत्व छ समाजमा
धेरै उत्तरदाइत्व छन् काँधमा
उत्साह र प्रेरणाहरु छन् विवेकमा ।

मनको स्वच्छन्दता असिमीत हुन्छ
मष्तिस्कको दायरा सिमीत हुन्छ
असिमीत र सिमीत दुवै मान्य छैन मलाई
मध्यम मार्गमा हिंड्न चाहान्छु
स्वतन्त्र जिवन जिउन चाहान्छु
मन र मष्तिस्कको सन्तुलन चाहान्छु 
अनि, जिम्मेदार नागरीक बन्न चाहान्छु ।

#मीटु

                        लालीगुरांश  (सिर्जना भण्डारी)
हाम्रो परम्परा र संस्कृतिको कुरुप पर्याय
असमानता, हिंसा, बलत्कार, हत्या, आत्महत्या
उफ ! कति पिडादाई ! !
अति भो अव त
अहँ, अव म सुन्न र सहन सक्दिन .
विगत लाई सम्झँदा आँतेस लाग्छ
अहो ! अतितका ति छटपटाहट ! !
ति बिभत्स भोगाइ अनि अव्यक्त पिडाहरु
जसले मेरो तन र मनलाई
क्षतविक्षत बनाइदिए
उत्साह, साहस र आत्मविश्वासलाई
जरैसंग उखलेर फालिदिए
गणित, ट्युसन, काका, यौन, हिंसा, त्रास
यस्तै साधारण तर कपटता भित्र रुमल्लीएका
मेरा बिभत्स भोगाइ र अव्यक्त पिडाहरु
कसैसँग भन्न पनि नसकीने
समाज र परिवारको इज्ययतको जिम्मेदारी
मेरो कमजोर काँध, मरीसकेको आत्मविश्वास
म छोरी, मेरो चरीत्र नै कुलको इज्ययत
पुस्तौं पुस्ता देखि चलीआएको
कम बोल्नु, धेरै सहनु भन्ने परम्परागत सिकाई
उफ ! कस्तो उकुसमुकुस त्यो ! !
एक दिन,
हिम्मत जुटाएर अवरुद्ध स्वरमा भनें
आमा, म…पटक…पटक…लुटीएं…
गणित…ट्युसन…काका…फोटो…
मेरो गला अवरुद्ध, सुक्क…सुक्क…
आमाका राता आँखा, क्रोधको हुँकार
तर क्षणिक, अनि स्तब्ध र सिथिल
कारुणीक भावको एकाहारो हेराइ
मायाँ र सहानुभूतिको अंकमाल
चिच्चाहट, रुवाइ, आँशु, वेदना
अनि मुर्दा शान्ति
निकैबेर पछि, आमाको कारुणिक अनुरोध
आईमाईको जात यस्तै हो बा
आइन्दा विचार पुर्याएस
कसैलाई नभनेस, वरवाद हुन्छ
ढोका ढ्याम्म, आमा बाहिर
पुनः गुञ्जीयो उही ढोंगी निर्दयी आवाज
भाउजू सन्चै ?
छोरीलाई गणित पढाउन आको
आमाको रुखो जवाफ,
पर्दैन अवदेखि स्कुलमै पढ्छे
मनभरी थुप्रै जिज्ञासा र प्रश्नको ठेलमठेल
तर घटनाको गम्भीर्यताबाट अनभिज्ञ
म चुपचाप कोठामा रोइरहें…रोइरहें… ।
क्रुर अतितलाई पैतालाले कुल्चेर
बदलाको आगो निभ्न नदिइ अगाडि बढें
दिन, महिना अनि वर्षहरु विते
सफलता, प्रतिष्ठा, परिवार, समाज सबै थियो
तर मनमा चैन र शान्ति थिएन
पिडादायी अतित अनि आमालाई सम्झीएं
विगतको परिस्थितिमा मेरी आमाको विवसता
आज सजिलै बुझ्न सक्छु म
उनलाई सामाजिक प्रतिष्ठा अनि मेरो भविश्यले
कति पिरोलेको हुँदो हो
आफ्नो मुटुको टुक्राको पिडा कम गर्न नसक्दा,
पिडकलाई संधै आफ्नो अगाडि झेलिरहनु पर्दा
कति ग्लानी अनि भाउन्न हुँदो हो
ए निर्दयी समाज, महिला हुनुको
यो कस्तो बिडम्वना ! कस्तो बाध्यता ! !
आमाको कसैलाई नभन्ने त्यो निर्णय
गलत थियो या सही
थाहा छैन
हरहालमा पुरुषलाई चोख्याउने
चरम विभेदीत पितृसत्तात्मक समाजमा
मैले कलंकको दाग बोकेर
परिवार र समाजको बोझ त बन्नु परेन
तर सायद सही थिएन
किनकी
त्यस बखत देखि आज सम्मै
मानसिक रुपमा पलपल मरीरहेको छु
प्रतिसोधको आगोमा दनदनी जलीरहेको छु
के गरौं, कसो गरौं, कसलाई भनौं
डाह र छटपटीमा पागल भईरहेको छु
हो, साच्चै नै त्यो निर्णय सही थिएन
त्यहि मौनताले पिडकहरुको उत्साह बढाइरहयो
बलत्कार, मेलमिलाप, गर्भ, एवोर्सन, आत्महत्या आदि
विभत्स घटनाहरु घटीरहे, दोहोरीरहे
कुलको इज्ययत र प्रतिष्ठाको नाममा
चुपचाप घटनाहरु दबाइरहे
अवोध निर्मलाहरु वलि चढाइरहे
कुरुप र फोहोरी समाजमा
उल्टो प्रक्रिया चलीरहयो
जवकि पिडकलाई वलि चढाईनु पथ्र्यो ।
तर, आज समय फेरीएको छ
यो सशक्तिकरण, #मीटु र #सी/हीटुको युग हो
समाजमा इज्ययतको खोल ओढेर बसेका
अवोध र निमुखाहरुको शिकार गर्ने
नयाँ पुराना ब्वाँसाहरु हो
अवदेखि सावधान !!!
अव सशक्त आवाज, #मीटु र #सी/हीटुको साङलोले बाँधेर
समाजका यी भाइरसहरुलाई
कानुनको कठघरामा पाता फर्काइनेछ
अतितमा मेरो मनमा लागेको आगो निभेको छैन अझै
बरु डढेलो बनेर दन्कीरहेको छ
अव, म चुप रहन्न
सबैले सुन्नुहोस र फोहोरी समाजको शुद्धीकरणमा
सहयोग र साथ दिनुहोस
#मीटुः मेरो अपराधी फलानो हो…
#सी/हीटुः ऊसको अपराधी फलानो हो…
#मीटु:……………
#सी/हीटु:……………

नारी तिमी

                             लालीगुरांश  (सिर्जना भण्डारी)


नारी,
वगैंचाको सुन्दर फूल तिमी
संधै यस्तै फूलिरहनु 
मिठो वासना छरीरहनु
सत्यको बाटो हिंडीरहनु
सफलताको शिखर चढीरहनु
डाह गर्ने गर्दै गर्छन
आफ्नो बाटो हिंडिरहनु ।

लक्ष्य तिम्रो सगरमाथा
लामो बाटो अल्झन धेरै
पन्छाइ अघि बढीरहनु
जिवन एक लामो यात्रा
सोझो बाटो हिंडिरहनु
मेहनेतको फल मिठो हुन्छ
ब्यस्त मौरी बनीरहनु ।

नम्रता नै सुन्दर गहना
संधै संधै पहिरीरहनु
सादा जिवन उच्च विचार
आदर्शमा चलिरहनु
सेवा नै ठूलो धर्म हो
अन्तर मनमा जपिरहनु –२