Wednesday, 29 October 2014

वाल्यकालको याद

                        लालीगुरांश
ऊशा भो पूर्बमा लाली रंग छायो
कुखुरा र परेवाको संकेत आयो ।

चरा चुरुंगी चिरबिराउन थाले
वतास सँगै सल्ला सुसाए ।

कपुर, तुलशी, चन्दन मगमगाए
पुजारीले मन्दिरमा घण्ट बजाए ।

गौ माता कराइन दुध दिनलाई
आमा जानु भो बाच्छो फुकाई ।

झ्याम्म छ वाँश ढकमक्क बारी
कुहु कुहु कोइली गित गाउन थाली ।

आगनमा कराउँछन् गाई र बाख्रा
गाईको बाँ बाँ बाख्राको म्याँ म्याँ ।

कोरीबाटी गर्न केश फिजाई
खाजा खाएर बहिनी स्कुल गई ।

हलिया छैन म त जान्छु खेत
काम गर्छु आज बहिनीको समेत ।

धेरै छ काम घाम कति चर्को
थकाइ लाग्दा मलाई लाग्छ झर्को ।

म पनि पढ्छु स्कुल जाने
बहिनीसंगै विहान खाजा खाने ।

दिदी र बहिनी खुशी हुँदै मिल्यौं
किताब च्यापी स्कुल हिँड्यौं ।        







Wednesday, 15 October 2014

अस्ती जस्तो लाग्छ ...

          लालीगुरांश
अस्ती जस्तो लाग्छ
तिमीले हेटौडे चप्पल
पिटीक पिटीक पार्दै
बिरोधीबाट आफूलाई छल्दै
तिमी हामी संगै संगै बसेर
कोदाको ढिंडो ख्वाएको
भुटेका मकै भटमास
ग्रयाम ग्रयाम चपाएको
अनि उत्तिसे जंगलभित्रको
कलकल बगेको ध्वाँसे खोलाबाट
कर्कलाको पातमा
पानी ओसारी पिलाएको
ओहो आज तिमी त
चिन्नै नसक्ने पो भएछौ
मैले कालीझार लाइदिएर
ओखती गरी निको भएको
निधारको खतले पो चिनें
हैन तिमीले पो मलाई
चिनेनौ की कसो कि
नचिनेको जस्तो गरेको
म त उही खत्री त हुँनी
मेरो लवाइ खवाइ हेर त
म त जस्ताको तस्तै छु
तिमी पो अचम्मले फेरीएछौ
आइमाइले झैं कपाल पालेछौ
लामा लामा दारीजुँगा पालेछौ
गाउँमा हुँदा बरु घोडा चढ्थ्यौ
तर धन र पद पाएपछि त
बिदेशबाट ल्याएको महगो
पाडो पो चढ्न थाल्यौ रे
हैन कस्ता हुँदारान त
बिदेशीबाट ल्याइएका पाडा
भुइं तित्ता भरी दर्शन ढुंगा
टाँसेको घरमा बस्छौ रे
घर भित्रका कोठाकोठामा
बिना मान्छे आवाज आउँछ रे
आमै, हैन तिमीलाई
साँच्चै डर लाग्दैन भनेका ?
घरमा नचिनेका मान्छे पो
बाटोबाट उठाएर ल्याउछौ रे
धम्की दिदै भेटी देउ भन्दै
फिरौति पो माग्छौ अरे

Tuesday, 14 October 2014

मातृ भूमि नेपाल

              लालीगुरांश   
म जन्मिएको अनि हुर्किएको
मेरो मातृ भूमि नेपाल

राम र सीताको पवित्र थलो
मेरो जन्म भूमि नेपाल

बुद्धले विश्व सामु चिनाएको
मेरो शान्ति भूमि नेपाल

सगरमाथा टोपी ओढेको
मेरो सुन्दर भूमि नेपाल

गोर्खालीले वीरता कमाएको
मेरो गौरव भूमि नेपाल

अनुपम प्रकृतिमा खुलेको
मेरो स्वर्ग भूमि नेपाल

मेरो नेपाल तिम्रो नेपाल हाम्रो नेपाल
सबै नेपालीको नेपाल, जय नेपाल

Monday, 13 October 2014

जाली मायाँ

                             लालीगुरांश
समाजको बन्धन छोडी,
नाता सम्बन्ध सारा तोडी
साथ दिएँ उसलाई
शुखी जीवन बिताउँला भनी
तर निर्दोष मेरो मायाँमा
बिना बर्षात पहिरो गएछ
उसका सबै बाचा र कसमहरु
तृष्णाको भेल भै बगेछ ।

निरस भो जीन्दगी
अन्धकार देख्छु चारैतिर
कहाँ जाउँ कसलाइ पोखुँ
नदेखिने यो मुटुको पीर
सप्तरंगी सपना बुनीदिने
पाएछ उसले अरु नै कोही
कसरी सम्झाउँ यो निर्दोष मनलाई
याद आइरहन्छ हरपल उही ।

फाटेको खुशी सिउन नपाउँदै
मायाँको चिनो बढेर आयो
मायाँको अपमान त सहेकै थिएँ
कोखको लाज सामुन्ने आयो
सन्तानको मायाँ, समाजको तिरस्कार
कसरी सहुँ म यो बदनामको भारी
लाग्दैनथ्यो नारी कमजोर हुन्छन्
तर आफैं आज भएँ अबला नारी ।

टेक्ने समाउने केही छैन,
माथि खुल्ला आकाश तल चिसो माटो
कसरी जिउँ, कसका लागि जिउँ,
समाजले भन्छ बाँच्नु भन्दा मरेकै निको
मेरो चोखो मन अनि निश्छल मायाँ
जालीको फन्दामा परेछ
अर्काको कुभलो गर्दा भलो किन हुन्थ्यो र
ऊ त पक्राउमा जेल परेछ ।

मनमा धेरै मायाँ अनि
थोरै आश लिएर जेलमै भेट्न गएँ
मायाँको सपना, उसको नाशो अनि
समाजको तिरस्कार सबै सुनाएँ
अब त बुद्धि फिर्यो होला भनेर
रिहाइको ब्यबस्था मिलाएँ
उ त केटी बेच्ने दलाल रहेछ,
आफू दिल्लीको कोठीमा पुगेपछि पो चाल पाएँ ।


उ त केटी बेच्ने दलाल रहेछ,
आफू दिल्लीको कोठीमा पुगेपछि पो चाल पाएँ ।