Monday, 20 May 2024

सागरको लहरसंगसंगै वहने रहर!!

                           लालीगुरांश  (सिर्जना भण्डारी) 

प्रकृति नै सदगुरु होजसले आफूभित्र अन्तरयात्रा गर्न सिकाउँछ!


सागरको हरलहरसंग प्रकृति रमाउँछ
हरलहरको गुञ्जनसंग ॐकार गुनगुनाउँछ
सागरको निश्छलतामा प्रेम मुस्कुराउँछ
सागरको शान्तपनले हृदयलाई डुबाउँछ 

आहा प्रकृति!
हरलहरको स्पर्सले चट्टानलाई छोइदिने
चट्टानको दृढताले लहरलाई फिजाइदिने
लहरसंग लहरिदै पवन सुस्केराइदिने
चन्द्रमाको आकर्षणले लहरलाई उठाइदिने
सूर्यको हरकिरणले लहरलाई चम्काइदिने
वतासको हरझोखाले लहरलाई नचाइदिने
पुष्पलता सुगन्धले लहरलाई महकाइदिने
चराहरुले चिरबिरचिरबिर लहरसंगै गाइदिने
जलप्राणीको क्रिडाले लहरलाई झकझकइदिने
मेघको गडगडाहटले लहरलाई तरंगाइदिने
बादलुको घुम्टोले लहरलाई रुझाइदिने
वर्षातका थोपाहरुले लहरलाई श्रृगांरिदिने
भेलबाढीको वहावले लहरलाई बढाइदिने
शीतका मोतीहरुले लहरलाई चिस्याइदिने
पहाडका तरेलीहरुले लहरलाई नियालिदिने
रातको अन्धकारले लहरलाई छोपिदिने
उशाको झिसमिसेले लहरलाई चिहाइदिने
प्रकृतिको सुन्दरताले जीवनउर्जा जगाइदिने
जीवनउर्जाले इश्वर साक्षतकार गराइदिने
लहरसंगसंगै वहने रहर मनमा भरिदिने
किनकि
सागरको हरलहरसंग प्रकृति रमाउँछ
हरलहरको गुञ्जनसंग ॐकार गुनगुनाउँछ
सागरको निश्छलतामा प्रेम मुस्कुराउँछ
सागरको शान्तपनले हृदयलाई डुबाउँछ 

सागरको निश्छलतामा प्रेम मुस्कुराउँछ
सागरको शान्तपनले हृदयलाई डुबाउँछ ।। 

Monday, 6 May 2024

तिमीनै सर्वव्यापक प्रभु!

 रिगुरु भजन           

                 लालीगुरांश  (सिर्जना भण्डारी) 


तिमीनै मेरो भगवान प्रभु
आस्थाको किरण सदा चम्किरहोस्
तिमीनै मेरो पूजा प्रभु
भक्तिको रस सदा बगिरहोस्
तिमीनै मेरो इष्ट-देवता प्रभु
भावमा अजपाजप सदा चलिरहोस्
तिमीनै मेरो सद्गुरु प्रभु
दिव्यताको मार्गदर्शन सदा मिलिरहोस्
तिमीनै मेरो मालिक प्रभु
तिम्रो आशिर्वाद सदा बनिरहोस्
तिमीनै मेरो प्राण प्रभु
श्वासको लहर सदा चलिरहोस्
तिमीनै मेरो प्रज्ञा प्रभु
दिव्यज्ञानको प्रवाह सदा वर्षिरहोस्
तिमीनै मेरो आत्मगुफा प्रभु
तन-मन, भावना सदा भेटिइरहोस्
तिमीनै मेरो प्रकाश प्रभु
प्रकाशले प्रकाश सदा पाइरहोस्
तिमीनै मेरो ज्योति प्रभु
फैलिने अवसर सदा मिलिरहोस्
तिमीनै मेरो दिव्य-उर्जा प्रभु
प्राप्तिको उत्साहको सदा जागिरहोस्
तिमीनै मेरो संसार प्रभु
भरोसाको दियो सदा बलिरहोस्
तिमीनै मेरो जीवन प्रभु
सम्वन्धको डोरी सदा जोडिइरहोस्
तिमीनै मेरो साहारा प्रभु
सानिध्यताको भरोसा सदा मिलिरहोस्
तिमीनै मेरो प्रियतम प्रभु
प्रेमको आनन्द सदा छाइरहोस्
तिमीनै मेरो हृदय प्रभु
यादको अमृत सदा छल्किरहोस्
तिमीनै मेरो प्रेम प्रभु
चाहतको अग्नि सदा जलिरहोस्
तिमीनै मेरो मित्र प्रभु
मैत्रिय भाव सदा बनिरहोस्
तिमीनै मेरो श्रृगांर प्रभु
पल-पलका स्मृति सदा सजिइरहोस् 

तिमीनै मेरो श्रृगांर प्रभु
पल-पलका स्मृति सदा सजिइरहोस्।।

आध्यात्मिक उडान भर्नुछ!

हरिगुरु कविता                                  

              लालीगुरांश  (सिर्जना भण्डारी) 


ब्रह्मज्ञानी सद्गुरुको ज्ञान संधै नै महान
कोमल हृदयमा भरी, पूर्ण मानव बन्नुछ
आफैंभित्रका उर्जाका श्रोत चक्रहरुको जागरण गरेर
आफ्नै प्रतिभाको क्षमतामा, आध्यात्मिक उडान भर्नुछ

मृदुभाषी सद्गुरुको वाणि अति नै मधूर
कोमल मनमा साँची, सबैलाई माधूर्य बाँड्नुछ
फलेको बृक्षको शाखासरी विनम्र भावमा झुकेर
आफूभित्रका अष्टलक्ष्मी जगाई, आध्यात्मिक उडान भर्नुछ

सतचितआनन्द सद्गुरुको मुस्कान अति नै मिठो
प्रेमपूर्ण भावनामा भरी, प्रेमको संचार गर्नुछ
आफैंभित्रको वोध आत्मगुफामा लयवद्ध भएर
आत्मवोधमा स्थित भई, आध्यिात्मिक उडान भर्नुछ

सदाचारी सद्गुरुको आचरण अति नै पवित्र
आफूमा प्रतिविम्वित गरी, सबैकालागि सहयोगी बन्नुछ
आफैंभित्र आफूलाई खोजी सत्यको मार्ग पहिल्याएर
सत्यमा निष्ठ भई, आध्यात्मिक उडान भर्नुछ

परोपकारी सतगुरुको सेवा अति नै उत्तम
आफ्नो चेतनामा भरी, सबैलाई सेवा पुर्याउनुछ
सबैमा आफू, आफूमा सबै आत्मसाथ गरेर
निश्वार्थ सेवाभावले भरिई, आध्यात्मिक उडान भर्नुछ

सबैमा आफू, आफूमा सबै आत्मसाथ गरेर
निश्वार्थ सेवाभावले भरिई आध्यात्मिक उडान भर्नुछ ।।