Friday, 8 August 2025

चर्चा तनको कुरा मनको

                  लालीगुरांश  (सिर्जना भण्डारी)


व्यक्ति अव व्यक्ति रहेन

हड्डिमांसको पुत्ला मात्र बन्यो !


जीवन अव जीवन रहेन

निर्जिव पदार्थको थुप्रो बन्यो !


मनुष्य अव मनुष्य रहेन

गुमनाम अदृश्य कण बन्यो !


मानवता अव मानवता रहेन

कर्तव्य बिनाको अधिकार बन्यो !


मन अव मन रहेन

ताप थन्क्याउने भकारी बन्यो !


हृदय अव हृदय रहेन

सम्वेग दवाउने उपकरण बन्यो !


प्रेम अव प्रेम रहेन

प्रदर्शन गर्ने अभिनय बन्यो !


सम्वन्ध अव सम्वन्ध रहेन

इच्छा पुर्याउने साधन बन्यो !


आत्मियता अव आत्मियता रहेन

अन्धविश्वासको मिथ्या कहानी बन्यो !


पुण्य अव पुण्य रहेन

अहंकार चुल्याउने बदनियत बन्यो !


सांसारिक मान्यताको जटिलताको अग्निमा

शरीर जलेर खरानी भयो !


यस्तो र उस्तोको वादविवादमा

मन डढेर कोइला बन्यो !


हुन्छ र हुदैनको दोधारमा

हृदय जमेर वरफ बन्यो !


कानूनी र गैरकानूनीको बहसमा

प्रेम मरेर लास बन्यो !


बैध र अबैधको भुमरीमा

आत्मियता हराएर बिरानो बन्यो !


पुण्य र पापको लेखाजोखमा

इश्वर सदाकालागि विदा भयो !


त्यसैले, आजको

व्यक्ति अव व्यक्ति रहेन

हड्डिमांसको पुत्ला मात्र बन्यो !


जीवन अव जीवन रहेन

निर्जिव पदार्थको थुप्रो बन्यो !


मनुष्य अव मनुष्य रहेन

गुमनाम अदृश्य कण बन्यो !


मानवता अव मानवता रहेन

कर्तव्य बिनाको अधिकार बन्यो !


मानवता अव मानवता रहेन

कर्तव्य बिनाको अधिकार बन्यो !!

8 August