लालीगुरांश (सिर्जना भण्डारी)
प्रकृतिको आर्शिवाद सुन्दर, दृश्य जीवनभित्र
अस्तित्वको आर्शिवाद अदृश्य जीवन भेटियो
आनन्द अस्तित्वकै विराट स्वरुप रहेछ
अस्तित्वको विराट आनन्दको सागरमा डुबेपछि
दृश्य जीवनका रागहरु सबै मेटियो ।
अस्तित्वलेनै खोज्यो, रोज्यो सुम्पिएं आफूलाई
तर्सायो, फकायो राख्यो उसकै साथमा
पवित्र बनाइ पठायो प्रकाशपुञ्जमा नुहाइ
सप्तरंगी प्रकाशपुञ्ज जव भरिए जीवनमा 
जीवनभित्रको अदृश्य जीवन उत्रियो हृदयमा ।
हृदयको दर्पणमा आफ्नै स्वरुपलाई देखें
वर्तमानका पलहरुमा आफू स्वयंलाई भेटें
दृश्य जीवनमा अदृश्य जीवन भेटाएं
अलौकिक, दिव्य क्षणहरुमा पलपल रमाएं
आफ्नै स्वरुपसंग झिलमिलाएं उसैमा बिलाएं ।
उ आउछ, छाउछ मनैभरि तनैभरि
प्रेमको पुष्पक बिमानमा उडाउछ घरिघरि
सुगन्ध छरिदिन्छ महकाइदिन्छ अंगअंग सारा
सुम्पिएं उसैलाई सबै खुशीहरु मेरा
अव, उनै जीवन, उनै साहारा ।
सपनामा आउछ, सुस्तरी मलाई चिहाउछ
बिपनामा छाउछ, सूमधूर प्रेमराग गुञ्जाउछ
प्रेमरस पिलाई हृदयमा अमृत भरिदिन्छ
आनन्दमा डुवाउछ, हसाउछ, कहिले रुवाउछ 
नजरले मोहित बनाउछ, सुटुक्क हराउछ ।
उसको यादमा हृदय पुलकित भैरहन्छ
उसको साथको तृष्णाले पलपल सताइरहन्छ
पाउन नसकिने, नत गुमाउननै सकिने
कस्तो अनौठो सत्य अनभूतिमा आयो
दृश्य जीवनभित्र अदृश्य जीवन भेटियो ।
कस्तो अनौठो सत्य अनभूतिमा आयो
दृश्य जीवनभित्र अदृश्य जीवन भेटियो ।