Friday, 14 April 2023

हरपल पलपल

                         लालीगुरांश  (सिर्जना भण्डारी


तिमीसंग भेटेदेखि, तिमीलाई पाएदेखि

म त एक्लै-एक्लै मुस्कुराइरहेछु

तिमीलाई नै सम्झेर, हरपल पलपल

तिम्रै गीत गाइरहेछु, म त तिम्रै गीत गुनगुनाइरहन्छु।

 

तिम्रो मिठो मुस्कान भित्र आफूलाई राखिदिएं

तिम्रो सुमधूर साथसंग आफूलाई बाँधिदिएं

तिमीलाई देखेर, हरपल पलपल

तिम्रै यादमा रमाइरहेछु, म त तिम्रै यादमा हराइरहन्छु।

 

तिम्रो गहिरो प्रेम भित्र दिव्य संसार पाएं मैले

तिम्रो गहिरो चाहत भित्र आफैंलाई हराइदिएं

तिमीलाई सोचेर, हरपल पलपल

तिम्रै रंगमा रंगीरहेछु, म त तिम्रै रंगमा रंगीरहन्छु।

 

तिम्रो आँखाको हेराईमा आकर्षणको आभा पाएं मैले

तिम्रो आँखाको गहिरो सागरमा आफूलाई डुबाइदिएं

तिमीलाई भेटेर, हरपल पलपल

तिमी भित्रै बिलाइरहेछु, म त तिमी भित्रै बिलाइरहन्छु।

  

Monday, 10 April 2023

मेरो संसार तिमी

                लालीगुरांश  (सिर्जना भण्डारी


तिमी नै तिमी मेरो हृदयको गहिराइमा

तिमी बाहेक छैन कोही यि नजरमा

तनमनमा तिमी, मेरा नयनमा तिमी

मेरो यादभरी तिमी, मेरो संसार तिमी।

 

तिमी नै तिमी मेरा हर आभासहरुमा

तिम्रै नाम जप्छु मेरा हर वाणिहरुमा

हर धूनमा तिमी, मेरो अनुभूतिमा तिमी

मेरो हरपलमा तिमी, मेरो संसार तिमी।

 

तिमी नै तिमी मेरा हर यादहरुमा

तिम्रै स्मरण मेरा हर श्वास-श्वासमा

हर धड्कनमा तिमी, मेरो प्रितमा तिमी

मेरो रोम-रोममा तिमी, मेरो संसार तिमी।

 

तिमी नै तिमी मेरा हर आशाहरुमा

तिम्रै भरोसा मेरा हर कदम-कदममा

हर वाचामा तिमी, मेरो विश्वासमा तिमी

मेरो साथमा तिमी, मेरो संसार तिमी।

 

तिमी नै तिमी मेरा हर पूजाहरुमा

तिम्रै आराधना मेरा हर ॐ-ॐमा

हर अनुष्ठानमा तिमी, मेरो प्राप्तिमा तिमी

मेरो आस्थामा तिमी, मेरो संसार तिमी।