लालीगुरांश (सिर्जना भण्डारी)
पौराणीक धर्मग्रन्थमा चिनाइएकी
सदा मौन बस्ने सतीदेवी होइन म 
म भित्र गतिशील हुने चाहना छ !
भानुभक्तको वधुशिक्षामा परिभाषित 
सहनशील शुशील वधु होइन म
म भित्र अन्याय विरुद्ध उठ्ने आवाज छ !
साहित्यकारको सिर्जनामा श्रृङगारिएकी 
सदावहार कामुक स्त्री होइन म
म भित्र मेरो शरीरमा मेरै अधिकार भन्ने बुझाइ छ !
चित्रकारको क्यानभासमा पोतिएकी
निरवस्त्र अश्लिल सुन्दरी होइन म
म भित्र ब्यभिचारलाई रोक्ने सामथ्र्य छ !
अर्थहीन चलचित्रमा उभ्याइएकी 
निमुखा विचरी नारी होइन म
म भित्र आफ्नो रक्षार्थ लड्ने अदम्य बल छ !
हरेक परिवार र समाजले चाहने
सोझी, त्यागी, कमजोर महिला होइन म
म भित्र आमूल परीवर्तन ल्याउने साहस  छ !
घरपरिवार भित्र मात्र सीमीत रहने 
समर्पित र निस्क्रिय गृहिणी होइन म
म भित्र सक्रिय व्यक्तित्वको तृष्णा छ !
अनुत्पादक, केही नगर्ने बेरोजगार होइन म
देश र समाज प्रति उत्तरदाइत्वको वोध छ
केही गरेर देखाउने उर्जाशील क्षमता छ !
अनि
विद्या, शुशीला र ओनसरीको छविलाई
निरन्तरता दिने सुसुप्त मनोकांक्षा छ !
किनकी म हुँ आजकी नारी
किनकी म हुँ आजकी नारी !!
March, 6, 2017