Friday, 13 February 2015

मलाई प्यारो लाग्छ

                                               लालीगुरांश   
विकसित बिदेशी भूमिका चिल्ला सडकमा हिंड्दा
तन रमाए पनि मन रमाउन गाह्रो मान्छ
बुंग बुंग धुलो उडेर कुहिरै लागे पनि
मलाई आफ्नै मातृभुमिको धूलो नै प्यारो लाग्छ ।

चिल्ला अनि आरामदाई मोटरमा हिंड्दा
तनले सुख माने ता पनि मनले दुःख मान्छ
खाल्डा खुल्डीमा हल्लाएर जिउनै थकाए पनि
मलाई गाउँले गोरु गाडानै प्यारो लाग्छ ।

चैबीसै घण्टा एसी जडान गरिएका कोठामा बस्दा
तनले शितल माने पनि मनले गर्मी मान्छ
टन्टलापुर घाम र पातै नहल्लीने गर्मी भए पनि
मलाई तरर चुहिएका पसिनै प्यारो लाग्छ ।

सर्बत्र इन्जिनको प्रयोग गरी हलुका काम मात्र गर्दा
हातले आराम माने पनि मनमा सकसक लाग्छ
परिश्रम गरि जीउ नै थाक्ने काम गर्नु परे पनि
मलाई कोदालोले उठाएका ठेलानै प्यारो लाग्छ ।

परिश्रम गरि जीउ नै थाक्ने काम गर्नु परे पनि
मलाई कोदालोले उठाएका ठेलानै प्यारो लाग्छ ।


Friday, 6 February 2015

प्रकृति र म

                                लालीगुरांश
हावाको लहर सँगै
झुलेका ति लहरा अनि पातहरुले
मलाई नै डाके जस्तो लाग्छ
गमक्क फुलेका बेली, चम्पा, चमेली
अनि जाई, सुनखरी देख्दा
प्रकृति नै स्वर्ग झै लाग्छ
अझ त्यस माथि तिनले हावामा
बास्ना छरिदिदा झन
संसारै मगमगाए जस्तो लाग्छ
प्रकृतिलाई अझ नियाल्दा
मलाई यस्तो लाग्छ कि
म पनि फुल हुन पाए हन्थ्यो
हावा, पानी, शित अनि
खुल्ला आकास मुनि रमाउन पाए हुन्थ्यो।

हुनत बोटबिरुवाको जिवन छोटो हुन्छ
भन्छन, त्यस्तो जिवन के जिवन!
तर मलाई लाग्छ
जिवन छोटो भएर के भयो त
हाम्रा आँखाले नदेख्ने प्राणी देखि
ठुलठुला भिमकाय प्राणीहरुलाई
आफ्नो बसमा पारेकै छन्,
संसार हराभरा पारेकै छन्,
सबैलाई पालेकै छन्
अनि आफु मरेर अरुलाई बचाएकै छन्
र उचित मुल्यांकन पाएर
सबैका लागि अपरिहार्य बनेकै छन्
जो हामी लामो जिवन पाउने
प्राणी चोलाले गर्न सकेका र भ्याएका छैनौं।

हो, त्यसो भए के छोटो जिवन अनि
के लामो जिवन!
त्यसैले त मलाई पनि
फुलबिरुवा बन्न मन लाग्छ
फुलवारीमै डुब्न मन लाग्छ
फुलवारीमै हराउन मन लाग्छ।